बागमती प्रदेशको राजधानी हेटौँडा मुलुककै करिब मध्य भागमा अवस्थित छ । प्रदेशको राजधानी हेटौँडामा पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा, सम्मेलन निरन्तर भइरहेको छ । शुक्रबार र शनिबार दुई दिन मोबाइल व्यवसायी महासंघको वार्षिक साधारणसभा सम्पन्न भयो । शनिबारबाट मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भयो । तीनदिनसम्म सञ्चालन हुने सम्मेलनमा देश, विदेशबाट प्रतिनिधि सहभागी छन् । आइतबारबाट बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश युवा सम्मेलन सुरु भएको छ । एक साताको अवधिमै तीन वटा महत्वपूर्ण सभा, सम्मेलन भएका छन् । यसले हेटौँडामा सयौं मानिसको उपस्थितिलाई स्वीकारेको छ । हेटौँडा सहरले एक साताको अवधिमा सयौंलाई आतिथ्य गरेको छ ।
सभा, सम्मेलनको आयोजनामा सामान्यरुपमा हेर्दा मानिसको भीड देखिन्छ । तर, त्यो भीड मात्रै नभएर फरक फरक व्यक्तिहरुको एकीकृत उपस्थिति हो । व्यवसायीको भेलाले व्यावसायिक अवसर र चुनौतिको विषयमा विमर्श गर्नेछ भने युवाको भेलाले भोलिको मुलुकको परिकल्पनालाई अझ सवल बनाउने विषयमा चर्चा गर्नेछ भने शैक्षिक संस्थाको अन्तर्राष्ट्रिय सम्मेलनले सरोकारवालालाई सीमित दायरामा मात्रै नरही विश्वस्तरीय दृष्टिकोण विकास गर्न र विश्वस्तरमा अग्रसर हुन प्रेरित गर्नेछ ।
हेटौँडामा हुने सभा, सम्मेलनबाट हेटौँडावासीले बढीभन्दा बढी लाभ लिन सक्नुपर्छ । हेटौँडाले आफ्नो अवस्थालाई उकास्न र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बढाउन पनि यस किसिमको सभा, सम्मेलन प्रभावकारी हुनेछ । हेटौँडामा राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा, सम्मेलन हुँदै गर्दा स्थानीय सरकार र प्रदेश सरकारले यसलाई अपनत्व लिन सक्नुपर्छ । देश, विदेशबाट आएका जनशक्ति, स्रोत, साधनको विषयमा अध्ययन गरी आगामी दिनमा ती जनशक्ति, स्रोत, साधनको उपयोग गरेर हेटौँडा उपमहानगरसँगै मकवानपुर जिल्ला र समग्र प्रदेशलाई नै राम्रो बनाउन के गर्न सकिन्छ ? गर्नुपर्छ ? भन्ने विषयमा गम्भीरताका साथ काम गर्नु जरुरी छ ।
सभा सम्मेलनले आर्थिक पाटोमा पनि उल्लेखनीय लाभ लिन सकिन्छ । होटल, पर्यटन क्षेत्रले व्यावसायिक लाभको अवसर उच्च रहन्छ । सभा, सम्मेलनमा सहभागी हुने क्रममा हेटौँडा आउने देश, विदेशका मानिसलाई गुणस्तरीय, सहुलियत र आकर्षक सेवा दिएर आगामी दिनमा पनि हेटौँडा आउने, बस्ने, बुझ्ने, अध्ययन गर्ने अवसर सिर्जना गर्न व्यवसायी पनि जिम्मेवार हुनुपर्छ । समग्र देशको अर्थतन्त्र र अवस्था कमजोर भइरहँदा यस्ता सभा, सम्मेलनलाई अवसरको रुपमा सदुपयोग गरेर आर्थिकसँगै समग्र पक्षको सुधारमा हेटौँडाका सरोकारवालाले ध्यान दिनुपर्छ । सभा, सम्मेलन आयोजना गर्दै गर्दा भएका समस्याका विषयमा पनि सरोकारवालाले गम्भीर भएर समीक्षा गर्ने र आगामी दिनमा यस किसिमका समस्या, कमजोरी नहोस् भनी सचेत हुनुपर्छ ।










