भिडियो एक्सरे सेवा विस्तार गरिएपछि पेटको एक्सरे गराउनु हुँदै गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने ।

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया आधारभूत अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गरिएको छ । भिडियो एक्सरेको आधारभूत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बकैया गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रमेश फुयालले जानकारी दिनुभयो । १५ सैय्याको बकैया आधारभूत अस्पतालले सोमबारदेखि भिडियो एक्सरे सेवा सुरु गरेको हो ।

सोमबार गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले पेटको भिडियो एक्सरे गर्नुभएको थियो । भिडियो एक्सरे सेवा विस्तार भएसँगै गर्भवती महिलाले बढी लाभ लिन सक्नेछन् । स्वास्थ्य शाखा प्रमुख फुयालका अनुसार अहिले सुरु गरिएको सेवा प्राथमिक प्रकृतिको भएको र यसबाट स्वास्थ्य समस्याका आधारमा माथिल्लो तहको स्वास्थ्य संस्थामा सेफर गर्न सकिनेछ । भिडियो एक्सरे सेवा नहुँदा गाउँवासी हेटौँडा धाउन बाध्य थिए ।

बकैया आधारभूत अस्पतालमा अहिले २ जना मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अस्पतालको निमित्त प्रमुख डा. कुमार ढुंगेल हुनुहुन्छ भने अर्का मेडिकल अधिकृत डा. किशोर श्रेष्ठ पनि हुनुहुन्छ । बकैया आधारभूत अस्पतालमा महिनाको १० देखि १५ जनाले प्रसुती सेवा लिइरहेका छन् भने दैनिक ६० देखि ७० जनाले आकस्मिक र बहिरंग सेवा लिइरहेका छन् ।