सांकेतिक तस्वीर ।

हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–६, लेखपानीमा एसिड प्रहारबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गत चैत १७ गते साँझ ७ बजेर ३० मिनेटको समयमा सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–४ का ४० वर्षीय सुकुराम परियारलाई अपरिचित व्यक्तिले एसिड प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सुकुरामलाई लेखपानीस्थित बाटोमा हिँडिरहेको अवस्थामा सुकुराम माथि एसिड प्रहार भएको थियो । सुकुरामलाई उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पताल लगिएको थियो । उपचारको क्रममा सुकुरामको आइतबार बिहान ९ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । एसिड प्रहार संलग्न भएको अभियोगमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–३ घर भई हाल काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–६, लेखपानी बस्दै आएका ३१ वर्षीय रामबहादुर मानन्धरलाई चैत १८ गते प्रहरीले पक्राउ गरेको छ ।