फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले विद्यालयमा पठनपाठन सुचारु गरेको छ । दैनिक १ देखि २ वटा कक्षाका विद्यार्थीलाई पठनपाठन गर्नुका साथै गृहकार्य दिने गरी विद्यालय सुचारु गरिएको गाउँपालिकाका स्रोत शिक्षक पूर्णभद्र भुषालले जानकारी दिनुभएको छ । ४ महिनादेखि विद्यालय बन्द हुँदा बालबिवाहका घटना बढेको, बालबालिका श्रममा संलग्न हुन थालेको पाइएपछि पालिकाले विद्यालयका प्रधानाध्यापकको भेला गरेर पठनपाठनको आवश्यक तयारी गरेर पठनपाठन सुचारु गरिएको स्रोत शिक्षक भुषालको भनाइ छ ।

मनहरी गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालय मध्ये अधिकांशमा पठनपाठन सुचारु भएको छ । विद्यालयमा विद्यार्थी बीच भौतिक दूरी कायम राखी आवश्यक स्वास्थ्य सतर्कतासहित पठनपाठन सुचारु गरिएको बताइएको छ । सातामा कम्तिमा पनि एक दिन एउटा कक्षाका विद्यार्थी विद्यालय आउने गरी विद्यालयहरुले तालिका बनाएका छन् । पठनपाठन सुचारु नहुँदा बालबालिकाको नियमित शिक्षामै गम्भीर प्रभाव पर्ने देखिएपछि प्रधानाध्यापकको भेला गर्नुका साथै अभिभावकसँग समेत छलफल गरेर पालिकाका अध्यक्ष एकराज उप्रेतीले आवश्यक सतर्कता अपनाएर पठनपाठन सुचारु गर्न आव्हान गर्नुभएको हो । मनहरीमा गएको शुक्रबारबाट पठनपाठन सुचारु भएको छ । केही विद्यालयमा भने भौगोलिक रुपमा जटिल अवस्थितिमा रहनु र वर्षाका कारण विद्यार्थीलाई आउजाउ गर्न समस्या हुने भए पठनपाठन सुचारु गर्न समस्या भएको हुन सक्ने स्रोत शिक्ष्ँक भुषालले बताउनुभएको छ ।

गाउँपालिकाले क्वारेन्टिन सञ्चालन गरेका विद्यालयमा भने पठनपाठन सुचारु हुन सकेको छैन । असार अन्तिम साता गाउँपालिकाले प्रधानाध्यापकहरुको भेला आयोजना गरेको थियो । यस्तै गाउँपालिकाले कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि स्वअध्ययन सामग्री प्राकशन गरेर वितरण गरेको छ । संघीय सरकारको ३ लाख रुपैयाँ बजेट र पालिकाको ५ लाख गरी कुल ८ लाख रुपैयाँ बजेटले ४५ दिनका लागि पुग्ने पाठ्य सामग्री भएको पुस्तक विद्यार्थीलाई वितरण गरिएको स्रोत शिक्षक भुषालले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाका सामुदायिक विद्यालयमा करिब ९ हजार र संस्थागत विद्यालयमा करिब एक हजार गरी करिब १० हजार विद्यार्थी छन् ।