हेटौँडा : जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेश विरुद्ध सहज जीत दर्ता गरेको छ । सोमबार दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सहजै ९ विकेटले खेल जितेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको कर्णाली बागमतीका बलर रिजन ढकाल र सूर्य तामाङ सामू निरिह देखिएको थियो । कर्णाली प्रदेशको टिम १९ ओभर २ बलमा सबै विकेट गुमाएर ५८ रन मात्रै बनाउन सफल भयो । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका रिजन ढकालले ८ ओभर १ बल खेल्दै १९ रन व्यहोर्नुका साथै ५ विकेट लिन सफल भए । यस्तै सूर्य तामाङले ७ ओभर बलिङ गर्दा १७ रन खर्चेर ४ विकेट लिए । ११ रन जोड्दा पहिलो विकेट गुमाएको कर्णालीले १३ रन जोड्दा दोस्रो विकेट गुमायो । ५० रन जोड्ने बेलासम्ममा कर्णालीले ७ विकेट गुमाइसकेको थियो ।
कर्णालीका लागि सुनिल धमलाले १५ रन जोड्ने बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णाली प्रदेशविरुद्ध बागमतीले अहिले व्याटिङ गरिरहेको छ । ५९ रनको झिनो लक्ष्य पछ्याएको बागमतीले ६ ओभर ३ बल खेल्दै १ विकेटको क्षतिमा जीत हासिल गर्यो बागमतीका लागि ओपनर इशान पाण्डे ११ बलमा २२ रन बनाउँदै आउट हुँदा अर्का ओपनर आशुतोष घिरैलाले १९ र शुभ कंसाकार १६ रन बनाउँदै अविजित रहे । यो जीतसँगै बागमती प्रदेश तालिकाको चौथो नम्बरमा उक्लिएको छ । ८ खेलमध्ये ४ खेल जितेको बागमतीले ४ खेल गुमाएको छ । लिग चरणको अन्तिम खेलमा बागमतीले बुधबार मधेश प्रदेशको सामना गर्नेछ ।