
हेटौंडाः हेटौंडामा आइतबारबाट दोस्रो संस्करणको उपकुलपति कप ७ ए साइट महिला फुटबल प्रतियोगिता सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन संकायको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले गर्नुभयो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वनविज्ञान संकाय हेटौंडाले शानदार जीत दर्ता गरेको छ । प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस बर्दिवासलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै आयोजकले जीत निकालेको हो । पहिलो खेलमा आयोजकको तर्फबाट दोस्रो हाफमा प्रतीज्ञा सुनारले ३ गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै निहारिका राई र कृष्टिना ठकुरीले समान एक÷एक गरे । प्लेयर अफ द म्याच प्रतिज्ञा घोषित भइन् ।
यस्तै, दोस्रो खेलमा प्राकृतिक स्रोत व्यवस्थापन पाख्रिबास धनकुटाले जित निकालेको छ । प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस टिकापुरलाई २–० गोलले हराउँदै प्राकृतिक स्रोत व्यवस्थापन पाख्रिबास धनकुटाले जित निकालेको हो । पाख्रिबास धनकुटाबाट पूजा दहालले २ गोल गर्दै प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता अन्तर्गत सोमबार ३ वटा खेल हुनेछ । पहिलो खेलमा प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस सिन्धुली र प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस कटहरीको टिमबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस मदिचौर र प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पुरनचौरको टिमबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, तेस्रो खेलमा फ्याकल्टी अफ फरेष्ट्री र प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पाख्रिबासबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट प्रणालीमा सुरु भएको प्रतियोगितामा वनविज्ञान अन्तर्गत रहेको आंगिक र सम्बन्धन प्राप्त ९ वटा कलेजको महिला टिमहरुको सहभागिता रहेको छ । गत वर्ष पहिलो संस्करणको प्रतियोगिता चितवन जिल्लामा सञ्चालन भएको थियो । प्रतियोगिताका लागि हेटौँडा उपमहानगरपालिकाले सहयोग गरेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । विश्व विद्यालय अतिरिक्त क्रियाकलाप निर्देशक केपी थपलियाको सभाध्यक्षमा उद्घाटन भएको हो ।