हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ ल क्याम्पस प्रमुखका लागि ७ जनाले आवेदन दिएका छन् । क्याम्पस प्रमुख छनोट तथा सिफारिस समितिको सोमबार बसेको बैठकले आवेदन दिने ७ जनाको नाम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
क्याम्पस प्रमुख हुनका लागि हेटौँडा–२ का माधवप्रसाद गुनी, हेटौँडा–५ का भीमप्रसाद फुयाँल, हेटौँडा–१० का बिशभ अधिकारी, हेटौँडा–१२ का सन्तोषकुमार तामाङ, हेटौँडा–१४ की शान्तिमाया मुक्तान, हेटौँडा–१९ का जयराम सुवेदी र मकवानपुरगढी गाउँपालिकाका राजु गौतम छन् ।
सिद्धार्थ ल क्याम्पस नियमावली विपरित क्याम्पस प्रमुख सिफारिस समितिले आफैं कार्यविधि स्वीकृत गरी क्याम्पस प्रमुख छनोटका लागि दरखास्ता आव्हान गरेको हो । क्याम्पस सञ्चालनका लागि आवश्यक कार्यविधि क्याम्पस सभाले पारित गर्नुपर्नेमा समितिले नै पारित गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको देखिन्छ ।
नगरप्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष रहने क्याम्पस सभाले अनुमोदन गर्नुपर्ने कार्यविधि नगर प्रमुख अध्यक्ष तथा उपप्रमुख उपाध्यक्ष रहने क्याम्पस सञ्चालक समितिले कानून विपरित समितिलाई जिम्मेवारी दिएको छ । यता समितिले पनि सूचना सार्वजनिक रुपमा पत्रिकामा प्रकाशन नगरी उपमहानगरपालिकाको वेभसाइट र फेसबुक पेजमा मात्रै सार्वजनिक गरेको छ ।
क्याम्पस प्रमुखका लागि दरखास्त आव्हान गरिएको सूचना वेभसाइट र फेसबुकमा मात्रै सीमित भएका कारण हेटौँडा उपमहानगरभित्रका व्यक्तिले मात्रै आवेदन दिएका छन् । क्याम्पस प्रमुखका लागि आव्हान गरिएको सूचनामा उमेर हद पनि अस्वभाविक छ । विश्वविद्यालय तहमा प्राध्यापनको उमेर हद ६३ भए पनि समितिले आवेदक ३० वर्ष पूरा भएर ५५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ ।