बागमती प्रदेशका शुभ कंसाकार र इसान पाण्डे रन लिँदै ।

हेटौंडा : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जीत निकालेको छ । रुपन्देही जिल्लाको बुटवल महानगरपालिका भैरवहास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको समूह चरणको पाँचौं खेलमा बागमती प्रदेशको टिमले दोस्रो जीत दर्ता गरेको हो । बागमती प्रदेशको टिमले गण्डकी प्रदेशको टिमलाई ६९ रनले हराएको हो ।

दोस्रो जीत दर्ता गरेसँगै बागमती १० टिम सहभागी प्रधानमन्त्री कप क्रिकेटको तालिकामा छैठौं स्थानमा रहेको छ । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा कर्णाली प्रदेश पाँचौ स्थानमा छ । समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल पुलिस क्लब तालिकाको शीर्षस्थानमा छ भने त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।

टस हारेर पहिलो व्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । बागमतीका लागि इसान पाण्डेले सर्वाधिक ६९ रन बनाएका थिए । विपिन आचार्यले ६३ रन बनाएका थिए । मकवानपुरे खेलाडी शुंभ कंसाकारले ५२ रन बनाएका थिए । रिजन ढकालले २३ रन र आशुतोष घिरैयाले १४ रन बनाए । इसान र शुभले दोस्रो विकेटका लागि ९० रनको महत्वपूर्ण साझेदारी गरे । पहिलो विकेट २७ रन जोड्दै गर्दा ओपनर आशुतोष घिरैयालाई गुमाएको बागमतीका लागि इसान र शुभले ९० रनको महत्वपूर्ण साझेदारी गर्दै ११७ रन जोडेपछि शुभ आउट भएका थिए ।

बलिङतर्फ गण्डकी प्रदेशका अर्जुन कुमालले सर्वाधिमक ४ विकेट लिए । विपिन खत्री र सुवास भण्डारीले समान २/२ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको गण्डकी प्रदेशको टिमले ४४ ओभरमा २ सय १९ रन बनाउँदै अलआउट हुन पुगेको थियो । गण्डकी प्रदेशका लागि वन्स क्षेत्रीले सर्वाधिक ५५ रन जोडेका थिए । यस्तै समीर कँडेलले २६ रन, अमृत गुरुङले २० रन, कमल परियारले १९ रन, सुवास भण्डारीले १८ रन र अर्जुन कुमालले १४ रन बनाएका थिए ।

बलिङतर्फ बागमती प्रदेशका लागि इशान पाण्डेले सर्वाधिक ४ विकेट लिएका थिए । व्याटिङ र बलिङ दुबैमा राम्रो प्रदर्शन गरेका पाण्डे प्लेयर अफ द म्याच घोषित भए । यस्तै मकवानपुरे खेलाडी बायाँ हाते स्पिनर बलर साकार गजुरेलले २ विकेट थिए । समूह चरणको पहिलो खेलमा बागमतीको टिम सशस्त्र प्रहरी बलको एपीएफसँग, दोस्रो खेलमा आर्मीको टिमसँग पराजित भएको थियो भने तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा बागमतीले कर्णाली प्रदेशको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।