हेटौंडा : दोस्रो संस्करणको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा यही चैत ८, ९ र १० गते हेटौंडामा हुन लागेको दोस्रो संस्करणको खुला र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको हो ।
सोमबार जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष विष्णु घिमिरे (धूर्व) ले पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडा–११, थानाभर्याङस्थित ब्याडमिन्टन कभर्ड हलमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले खुला र भेट्रान्सतर्फ करिब १ सयभन्दा बढी टिमहरुको सहभागिता रहने जानकारी दिनुभएको छ । हालसम्म ५० वटा टिमहरु दर्ता भइसकेको उहाँले बताउनुभयो । भेट्रान्सतर्फको प्रतियोगितामा ४५ वर्षभन्दा अधिक उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो ।
जिल्ला ब्याडमिन्टन संघको स्थापना भएको करिब २ वर्षको अवधिमा दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको उहाँले बताउनुभयो । जिल्लामा ब्याडमिन्टन खेलको विकास गर्ने, लुकेका खेलाडीहरुको प्रतिभालाई जगाउने, ब्याडमिन्टनको नयाँ खेलाडी उत्पादन गर्ने, मकवानपुर जिल्लाको विभिन्न पालिकाका खेलाडीहरुबीच भातृत्व कायम गराउने र खेलाडीहरुको रुचि क्षमताको विकास गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।
खुलातर्फको प्रतियोगिताको उपाधि विजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फको उपाधि विजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । खुलातर्फको उपविजेता टिमले २० हजार रुपैयाँ र भेट्रान्सको उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तृतीय हुने खुलाको टिमले २ हजार ५ सय रुपैयाँ तथा भेट्रान्सकोले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुला र भेट्रान्सतर्फको सर्वोकृष्ट खेलाडीले १ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् । गत वर्षभन्दा यस वर्ष पुरस्कारको रकम बढाइएको छ ।
जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष सुरेन्द्र प्रधानको संयोजकत्वमा हुने प्रतियोगिताका लागि ९ जनाको समिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।