हेटौँडा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हेटौँडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा सर्वसम्मत नयाँ समिति चयन भएको छ । संगठनबीचको आपसी छलफलपछि आइतबार बिहान सर्वसम्मत नयाँ समिति चयन भएको हो । नवनिर्वाचित समितिको अध्यक्षमा दिवस सिलवाल चयन हुनुभएको छ ।
उपाध्यक्षमा सजना घिमिरे, सचिवमा सुवास राई, कोषाध्यषमा आशाराम गोले, सहसचिवमा आशिष भोलन निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा आयुषा बुढाथोकी, निश्चल गजुरेल, सन्तोष पुडासैनी, पूजा लम्साल, सुष्मा गौतम, सुशील तिमल्सिना चयन हुनुभएको छ । क्याम्पस प्रमुख लक्ष्मण कँडेलले एक सूचना जारी गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्वल चौलागाईको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत नयाँ समिति चयन गरेको जानकारी गराउनुभएको छ ।
स्ववियु निर्वाचन कार्यक्रमअन्तर्गत वंशगोपाल बहुमुखी क्याम्पसमा ५ वटा संगठन दर्ता भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी वंशगोपाल बहुमुखी क्याम्पसले स्नातक तहमा बीबीएस र बीएड कार्यक्रम सञ्चालन गरिरहेको छ । स्नातक तहमा २ सय ११ जना विद्यार्थी अध्ययनरत रहे पनि स्ववियु निर्वाचनमा भने १४७ मतदाता रहेको क्याम्पस प्रमुख लक्ष्मण कँडेलले जानकारी दिनुभएको छ । यसअघि मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा पनि स्ववियुको नयाँ समिति सर्वसम्मत चयन भएको थियो ।