हेटौँडा : बिहीबार मनहरीमा करेन्ट लागेर मृत्यु भएका ३१ वर्षीय इन्द्रबहादुरलाई मोवाइल चार्ज गर्ने क्रममा नभई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको खुलेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार अनुसन्धानको क्रममा मोवाइल चार्ज गर्दा नभई इन्द्रलालको अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका इन्द्रलालको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा बिहीबार नै मृत्यु भएको थियो । मकवानपुरको कैलाश गाउँपालिका–४ का इन्द्रलाल ८ महिनादेखि मनहरी–६, नयाँबस्तीमा आफन्तकोमा बस्दै आएका थिए । करेन्ट लगाएर माछा मार्नु गैरकानूनी र दण्डनीय अपराध भएका कारण इन्द्रलालका आफन्तले मोवाइल चार्ज गर्दा करेन्ट लागेको भनी प्रहरी बताएको देखिन्छ ।
मकवानपुर जिल्लाका खोला तथा नदिमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने गरिए पनि स्थानीय प्रशासन र प्रहरीले आवश्यक कारवाही गरेको देखिँदैन । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले करेन्ट लगाएर माछा मार्नु अवैध भएको र प्रहरीले माछा मारेको पाइए सम्झाई, बुझाई गरेर करेन्ट लगाएर माछा नमार्न भनी बताउने गरेको जानकारी दिनुभयो ।
जलचर संरक्षण ऐनमा उल्लेख भएबमोजिम कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन । सो ऐनको उक्त प्रावधान उलङ्घन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
स्थानीय प्रशासन, प्रहरीले कानून कार्यान्वयन गर्न नसक्दा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने क्रम जारी छ भने बेला बेलामा माछा मार्ने व्यक्ति नै करेन्ट लागेर मृत्यु भएका घटना सार्वजनिक हुने गरेको छ ।











