हेटौँडा : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिमले पहिलो जीत दर्ता गरेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिम विरुद्ध बागमतीले ५५ रनको जीन निकालेको हो । पहिले व्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो । २ सय ६७ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको सुदुरपश्चिम प्रदेशले ४७ ओभरमा २ सय ११ रन बनाउँदै सबै विकेट गुमाउन पुगेको थियो ।
बागमती प्रदेशको जीतमा मकवानपुरे खेलाडी शुभ कंशाकारले अर्धशतक प्रहार गरेका छन् । लुम्बिनी प्रदेशको तिलोतमामा भएको दोस्रो प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिम प्रदेश विरुद्ध बागमती प्रदेश टिमका लागि मकवानपुरे खेलाडी शुभ कंशाकारले ७७ रनको महत्वपूर्ण योगदान गरे । पाँचौं ओभरमा ११ रन हुँदा व्यक्तिगत ३ रन जोडेका ओपनर रित गौतम एलबीडब्लु आउट भएपछि शुभ कंशाकार क्रिजमा आएका थिए । शुभले अर्का ओपनर आशुतोष घिरैयासँग दोस्रो विकेटका लागि महत्वपूर्ण १३२ रनको साझेदारी गरे । शुभले ६८ बलमा ७७ रन प्रहार गरे । प्लेयर अफ द म्याच कंशाकार नै घोषित भए । बागमतीका लागि आशुतोष घिरैयाले ५८ रन बनाए । यस्तै, इशान पाण्डेले ३६ रन, पृथु बास्कोटाले १५ रन, सुमन सुनारले १२ रन विवेक मगरले १० रन बनाएका थिए ।
बलिङतर्फ सुदुरपश्चिम प्रदेशका हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान २÷२ विकेट लिए । यस्तै, राहुल भण्डारी, नारायण जोशीले समान १÷१ विकेट लिए । सुदुरपश्चिम प्रदेशका टेक रावतले सर्वाधिक ४५ रन बनाएका थिए । यस्तै नारायण जोशीले ३९ रन, राहुल भण्डारीले २६ रन, किरण ठगुन्नाले २१ रन, निश्चल क्षेत्रीले १४ रन र शेर मल्ले १४ रन जोडेका थिए ।
बलिङतर्फ बागमती प्रदेशका लागि मकवानपुरका रिजन ढकालले ३० रन खर्चेर ४ विकेट लिएका थिए । बायाँ हाते तीब्र गतिका बलर रिजनले १ ओभर मेडन खेल्दै उत्कृष्ट प्रदर्शन गरे । रिजनले किरण ठगुन्ना, नारायण जोशी, विकास अगरी र सौर्य श्रेष्ठको विकेट लिएका थिए । यस्तै सोनु देवकोटाले ४९ रन खर्चेर ४ विकेट लिएका थिए । यस अघिको खेलमा बागमती प्रदेश एपीएफको टिमसँग पराजित हुनुपरेको थियो । बागमती प्रदेशले आइतबार लुम्बिनी प्रदेशसँग खेल्नेछ ।