हेटौँडा : भोलि बिहीबार फागू पूर्णिमा अर्थात होली पर्व मनाइँदैछ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद) लाई मार्न अग्निमा आसन गर्दा होलिका आफैं जलेर नष्ट भएको र असत्यमाथि सत्यको जित भएको दिनको सम्झनामा होली पर्व मनाउने गरिन्छ । बिहीबार पहाडी क्षेत्रमा फागू पूर्णिमाको दिन होली मनाउँदैछ छ भने त्यसको भोलिपल्ट शुक्रबार तराईमा होली मनाउँदैछ ।
होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । वर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू निम्त्याएको छ । होलीमा युवाहरु इच्छा बिपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग खाएर मातिने जस्ता काम गर्छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले कुनै पनि व्यक्तिको इच्छा विपरीत फोहर पानी तथा लोला, मोविल केमिकल, प्रयोग नगर्न आग्रह गर्नुभएको छ । यस्तै मादक पदार्थ तथा लागू पदार्थ सेवन नगरी सभ्य र सुरक्षित तरिकाले होली मनाउन उहाँले आग्रह गर्नुभएको छ । मर्यादित र शिष्ट रुपमा आफन्त र चिनजानका साथीसँग मात्र होली खेल्न डिएसपी अर्यालले आग्रह गर्नुभएको हो । होली पर्वलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने बताएको छ ।
हेटौंडा बजारमा भने होली पर्व नजिकिएसँगै पानी छ्याप्नेदेखि रंग, टिसर्ट र कुर्ता होलीका लागि बिक्रीमा राखिएको छ । तर बजारमा भने होलीका लागि किनमेल गर्ने सर्वसाधारण व्यक्तिको भिड देखिँदैन् । होलीको टिसर्ट ढेड सयदेखि २ सयसम्म र कुर्ता ४ सयदेखि ५ सयसम्ममा बिक्रीका लागि राखेका छन् ।