हेटौँडा : मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठले सहज, सरल र नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा र सहज सेवा प्रवाह तथा विकास निर्माणको कामको गुणस्तर निर्धारणमा सबै पक्ष जिम्मेवार हुन जरुरी रहेको औँल्याउनुभयो ।
फागुन १५ गतेदेखि मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएकी श्रेष्ठले आईतबार जिल्लाका सञ्चारकर्मीहरुसँग छलफल गर्नुहुँदै प्रभावकारी सेवा प्रवाह र शान्ति सुरक्षा चुस्त राख्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । सुरक्षित र सभ्य समाज निर्माण अभियानमा सरोकारवाला निकायको ऐक्यवद्धता आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रहरी र प्रशासनले मात्र सभ्य समाज निर्माण गर्न नसक्ने उहाँको भनाइ थियो । सुशासन कायम राख्न प्रहरी प्रशासन र पत्रकारको पनि उत्तिकै दायित्व रहेको उहाँको भनाई छ । सुशासन कायम गर्न समाजमा हुने सम्पूर्ण अपराधिक क्रियाकलापमा प्रशासनले शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न प्रजिअ श्रेष्ठले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । पत्रकारको सक्रियताले नेतृत्व र कार्यान्वयन तहका अधिकारीलाई जिम्मेवार तथा जवाफदेही बनाउने उहाँको भनाई थियो । कर्मचारीतन्त्रलाई गतिशील बनाउन, समाजमा उत्तरदायी बनाउन निश्पक्ष पत्रकारिता आवश्यक रहेको उहाँले औँल्याउनुभयो । राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता मार्फत् कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही मार्गनिर्देश गर्न सक्ने उहाँले बताउनुभयो ।
त्यसअघि सञ्चारकर्मीहरुले लागुऔषध दुव्र्यसनी न्युनीकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उल्लंघन, खानी व्यवस्थापन, यौनजन्य घटनाको अवस्था, सामाजिक विकृति लगायतका विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।