हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिको आयोजनामा मासिक श्रृंखला सम्पन्न भएको छ । शनिबार भर्चुअल माध्यमबाट नवसर्जक साहित्य चौतारीकी अध्यक्ष कृतिका लौडारीको सभाध्यक्ष तथा अग्रज बाल तथा लोक साहित्यकार एवम् समालोचक प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यमा मासिक श्रृंखला सम्पन्न भएको हो ।
मासिक श्रृंखला कार्यक्रममा नवनिर्वाचित समितिका सदस्यहरुले रचनावाचन एवम् पुस्तक परिचर्चा गरेको अध्यक्ष लौडारीले जानकारी दिनुभएको छ । मासिक श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रा.डा. लामिछानेले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आवश्यक परेको अवस्थामा हरेक समयमा सहयोग गर्ने तथा उपस्थित रहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा नवसर्जकहरु ओखलढुंगाकी प्रविना प्रयासी, मकवानपुरकी रचना भण्डारी, बागलुङकी सुरक्षा गौतम, मकवानपुरका रौनक शाह, तेह्रथुममा रोशन गड्तौला, महोत्तरीकी प्रतिमा पौडेल, पाँचथरका पोना हाङ्मा लोबा, मकवानपुरकी स्वस्तिका दाहाल, मकवानपुरकी अनसूया खनालले रचनावाचन गर्नुभयो । यस्तै, स्याङ्जाकी बसन्ती अधिकारी, कैलालीका सन्तोष बराल, स्याङ्जाकी सिर्जना खनाल र मकवानपुरकी कृतिका लौडारीले रचनावाचन गर्नुभएको थियो ।
कोपिल अगस्त्य (कपिलवस्तु) ले दीपक गौतमकृत ’विसङ्गत वर्तमान’ (मुक्तक सग्रह) माथि समीक्षा प्रस्तुत गर्नुभएको थियो । यस्तै, प्रा.डा. लामिछाने, नवसर्जक साहित्य चौतारीका परिकल्पनाकार तथा संरक्षक दीपक गौतम, सल्लाहकार रमेशमोहन अधिकारी, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले पनि रचनावाचन गर्नुभएको थियो ।
चौतारीकी महासचिव स्वस्तिका दाहालले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेश संयोजक पोना हाङ्मा लोबाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवसर्जक साहित्य चौतारीकी सल्लाहकार एवम् अग्रज साहित्यकार प्रभा भट्टराई, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । चौतारीले हरेक महिनाको चौथो शनिबार नियमित मासिक शृंखला गर्दै आएको अध्यक्ष लौडारीले बताउनुभयो ।