नेपालमा बलात्कारको घटना बढ्दै जाँदा यसको समस्या भयावह बन्न थालेको छ । पछिल्लो समयमा हरेकदिन कुनै न कुनै ठाउँमा बलात्कारका घटना सार्वजनिक हुने गरेको छ । बलात्कार हुनेमा नाबालिगको संख्यासमेत उल्लेख्य पाइनु थप चिन्ताजनक बनेकाके छ । निकृष्ट अपराधको रुपमा रहेको बलात्कार बढ्दै जानुले नेपाली समाजलाई असुरक्षित बनाउँदै लगेको छ । बालिका, महिला, बृद्धा सबै बलात्कारको शिकार बन्ने गरेका छन् । सामूहिक बलात्कार र बलात्कारपछि हत्या गरिएका घटना पनि उस्तै डरलाग्दोसँग बढिरहेको छ । परिवारका सदस्य, आफन्त, साथी, राष्ट्रसेवक, आश्रयदाता, अभियन्ता सबैबाट महिला र बालिका सुरक्षित छैनन् । समाजलाई नै कलंकित पार्ने दानवीय प्रवृत्तिको यस्तो आपराधिक क्रियाकलाप बढ्दै जाने हो भने त्यसको परिणाम निकै भयावह हुने निश्चित छ ।
विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा शनिबार मकवानपुर प्रहरीले सामूहिक बलात्कारको घटना सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट सामूहिक बलात्कारको अभियोगमा ७ जना किशोरलाई पक्राउ गरेको जानकारी दिएको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरु १८ वर्षभन्दा कम उमेरका किशोरहरु भएको प्रहरीको भनाइ छ । हेटौंडा–२ स्थित वनस्खण्डी मन्दिरको माथि जंगलमा केही दिनअघि सामूहिक बलात्कारको घटना भएको प्रहरीले जानकारी दिएको हो । घटनामा पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले फागुन २२ गते ५ जना र २३ गते थप २ जनालाई पक्राउ गरेको हो । पक्राउ गरिएका किशोरहरुलाई जिल्ला अदालत मकवानपुरबाट जबरजस्ती करणी कसुरमा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । सामूहिक बलात्कार गरेका किशोरहरुले मोबाइलबाट भिडियोसमेत बनाएको र सामाजिक सञ्जालमा समेत उक्त भिडियो भेटिएको बताइएको छ ।
बलात्कारका कतिपय घटना सार्वजनिक नै हुँदैनन् । पीडितले गुपचुप राखिदिँदा वा परिवारले सामाजिक लाञ्छनाको डरले कतिपय घटना लुकाउने गरेको पाइन्छ । सार्वजनिक भएका घटनाका पीडित पक्राउ पर्नै सक्दैनन् । पक्राउ परेकाहरुले पनि पर्याप्त प्रमाण नपुगेको भन्दै उन्मुक्ति पाउने गरेका छन् । बलात्कारजस्तो निकृष्ट अपराध गर्ने दोषीले उन्मुक्ति पाउनु भनेको अपराधले प्रश्रय पाउनु हो । यस्तो अक्षम्य र अमानवीय अपराधमा संलग्नलाई कडा दण्डको व्यवस्था नहुँदा घटनाको पुनरावृत्ति भइरहेको आवाज उठ्ने गरको छ । निर्मम र जघन्य किसिमका बलात्कार, सामूहिक बलात्कार, बलात्कारपछि हत्याजस्ता घटनाका दोषीलाई कठोर सजाय दिनुपर्छ । बेलाबेलामा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाजसमेत उजागर भइरहेको परिप्रेक्षमा बलात्कारीलाई कठोर दण्ड सजायको व्यवस्था हुनुपर्ने देखिएको छ ।
बलात्कारका घटना किन बढिरहेका छन् भन्ने सवालमा सरकार र सम्बद्ध निकाय गम्भीर बन्नु आवश्यक छ । बढ्दो बलात्कारका घटनाले मानवीय समवेदना निकै कमजोर बनिरहेको अनभूति हुने गर्दछ । बलात्कार घटना सार्वजनिक हुँदा यसले सिंगो मानव समाजलाई नै कलंकित बनाउने गरेको छ । बलात्कार निकृष्ट, जघन्य र हिंस्रक अपराधको रुपमा विकास भइरहँदा सचेत मानवलाई लज्जित बनाइरहेको छ । यस्ता अपराध गर्ने जोसुकै भए पनि कडा कारबाहीको भागीदार हुनैपर्छ । पद, प्रतिष्ठा, पहुँच र पैसाको आडमा बलात्कारीले उन्मुक्ति पाउने अवस्थाको अन्त्य आवश्यक छ ।