हेटौंडाः नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकाको अध्यक्ष चुन्न सकस भइरहेको छ । पुरानो कार्यसमितिको म्याद सकिएको ३ महिना बितिसक्दा पनि अध्यक्ष चुन्न नसकेको हो । अघिल्लो ३ वर्षको कार्यकाल गत पुुस २० गते सम्पन्न भएको हो । सोपश्चात् नयाँ कमिटी गठन गर्न सकिएको छैन ।

नगर अध्यक्षका लागि ४ जना दाबेदार बनेका छन् । अध्यक्ष चुन्न गत फागुन ७ गते बैठक बसेको भए पनि बैठकमा ४ जनाकै अध्यक्षमा दावी रहेपछि अध्यक्षको टुंगो लाग्न सकेको छैन । बैठकले सर्वसम्मत नगर अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका एक सदस्यले जानकारी दिनुभयो ।

हाल संगठन अध्यक्षविहीन हुँदा नगर इन्चार्ज प्रल्हाद लामिछानेले संगठनको व्यवस्थापन गरिरहनु भएको छ । छिटै बैठक आह्वान गरी सर्वसहमतिमा अध्यक्ष चुन्ने भने पनि बैठकको मिति तय गर्न सकेको छैन । अध्यक्ष चुन्न नसक्दा पार्टीको अन्तरिक गतिविधि अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।