मकवानपुर जिल्लाको बकैया गाउँपालिका–८, देउताखोला सामुदायिक वन उपभोक्ता समूहमा लागेको डढेलो नियन्त्रण लिइँदै । फाइल तस्वीर ।

हेटौंडा : लामो समयसम्म खडेरी परेर यस वर्ष राम्रोसँग पानी परेको छैन । गत वर्षभन्दा यस वर्ष पानी कम परेकाले डढेलोको जोखिम उच्च रहेको डिभिजन वन कार्यालयका हेटौंडाका सूचना अधिकारी वन अधिकृत दीपक अधिकारीले बताउनुभयो । विगतका वर्षभन्दा यस वर्ष पानी कम परेका कारण डढेलो लाग्ने जोखिम उच्च रहेको उहाँले जानकारी दिनुभयो । गत वर्ष ६८५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो ।

डढेलोबाट हुने जोखिम न्यूनीकरणका लागि गत माघ २९ गते सरोकारवालासँंग बैठक बसेको र उक्त बैठकमा उच्च जोखिम देखिएका सामुदायिक वनमा अग्निरेखा बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । अग्निरेखाले गर्दा भावी दिनमा डढेलोबाट हुने क्षति कम हुने उहाँले बताउनुभयो । ‘अहिले सामुदायिक वनमा अग्निरेखा बनाउने कार्य भइरहेको छ’, वन अधिकृत अधिकारीले भन्नुभयो– ‘डिभिजन वन कार्यालय हेटौंडा अन्तर्गतका ८ वटा सवडिभिजन वन कार्यालयमार्फत् काम भइरहेको छ ।’ प्रत्येक सामुदायिक वनमा फागुनदेखि जेठसम्म ४ महिनाका लागि ३–४ जनाको संख्यामा अग्निनियन्त्रण टोली खटाइएको उहाँको भनाइ छ । टोलीका सदस्य, अग्निनियन्त्रक, वन हेरालु र कार्मचारीलाई वन डिभिजन कार्यालयले १० लाख रुपैयाँको बिमा गरेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयले अग्निनियन्त्रण गर्ने सामग्री खरिद गरेको र सामुदयिक वन उपभोक्ता समूहलाई पनि खरिद गर्न लगाएको उहाँले बताउनुभयो । आगलागी तथा डढेलोको घटना, काठ तथा वन्यजन्तु चोरी तस्करी, उद्दार र डिभिजन वन कार्यालयसँग सम्बन्धित गुनासोका लागि टोलफ्री नम्बर १८१०५०००१९३ सम्पर्क गर्न सकिने उहाँले जानकारी दिनुभयो । डढेलोबाट हुने जोखिम न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको उहाँले बताउनुभयो । आउँदो चैत १ गतेदेखि ७ गतेसम्म एक साता डढेलो सचेतना सप्ताह कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

नेपालको सन्दर्भमा डढेलो लाग्ने कुनै प्राकृतिक कारण नभए पनि मानवीय लापरबाहीले वनमा आगो लाग्ने गरेको उहाँले बताउनुभयो । नयाँ घाँस पलाउने मान्यता र खेतबारीको सरसफाईका लागि आगो लगाउँदा अनियन्त्रित भई डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । वन छेउमा घर भएका व्यक्तिहरुले खाना पकाएपछि आगो ननिभाउने, वनभोज गएका व्यक्तिले आगो ननिभाउने र रमाइलोका लागि वनमा आगो लगाउने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

चुरोटको ठुटाहरु ननिभाई जथाभावी फाल्दा पनि आगलागी हुने गरेको छ । कतिपय ठाउँमा सामुदायिक वनका पदाधिकारीसँगको रिसले कार्यकाल कमजोर बनाउने उद्देश्यले आगो लगाउने गरेको पाइएको डिभिजन वन कार्यालयका हेटौंडाका वन अधिकृत अधिकारीले बताउनुभयो ।