हेटौंडाः रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा भएको प्रथम संस्करणको अल नेपाल बुटवल मेयरकप खुला स्नुकर प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाका स्नुकर खेलाडी सोम लामाले जित्नुभएको छ । बिहीबार बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा सम्पन्न भएको फाइनल खेलमा घरेलु टोली बुटवलका सरोज गौतमलाई ७–५ को सेटले हराउँदै हेटौंडाका लामाले सर्वाधिक राशिको स्नुकर प्रतियोगिताको उपाधि जित्नुभएको हो ।

प्रतियोगिताको उपाधि जितेसँगै लामाले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै, उपविजेता बन्नु भएका बुटवलका गौतमले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगिताको हाइस्कोर ब्रेकर बन्न सफल हुनु भएको हेटौंडाका लामाले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

मंगलबार भएको क्वार्टरफाइनल खेलमा लामाले काठमाडौं महानगरपालिकाका कुमार शाहीलाई ५–१ को सेटले पराजित गर्दै सेमिफाइनलको यात्रा पूरा गर्नुभएको थियो । यसअघि बुटवलका गणेश दर्लामी मगरलार्ई हराउँदै उहाँले टप १६ मा स्थान बनाउनुभएको थियो । पाल्पाका कुनाल श्रेष्ठलाई ५–२ को सेटले पराजित गर्नुभएका लामाले क्वार्टरफाइनलको यात्रा पूरा गर्नुभएको थियो । हेटौंडाकै प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी हुनुभएका अर्का खेलाडी नितेश खण्डेलवाल बुटवलका रेगन श्रेष्ठसँग ५–१ को सेटले क्वार्टरफाइनलमा पराजित हुनुपरेको थियो । क्वार्टरफाइनल चरणसम्म प्रवेश गर्नुभएका खण्डेलवालले पमाणपत्र तथा मायाको चिनो प्राप्त गर्नुभएको छ ।

नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एसोसिएसन रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा हेटौंडासहित २ सय ५० जना भन्दा बढी स्नुकर खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा हेटौंडाको प्रतिनिधित्व गरेर हेटौंडा मेयरकप स्नुकर प्रतियोगिताको उपाधि विजेता प्रयास कर्माचार्य, उपविजेता जिनेश श्रेष्ठ, तृतीय हुनु भएका मिथुन लामा, बिनय लामा, नितेश खण्डेवाल, सृजना कार्की र नवीन गुरुङ पनि प्रतियोगितामा सहभागी भएको बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, इटहरी, बिर्तामोड, बनेपा, परासीलगायतका ठाउँबाट खेलाडीहरु सहभागी भएको उहाँले बताउनुभयो ।

बुटवल स्नुकर क्लबका अध्यक्ष सुजन पुनको सभाध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरस्कार वितरण समारोह भएको हो । पुरस्कार वितरण समारोहमा विभिन्न खेलक्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।