हेटौंडाः रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा जारी प्रथम संस्करणको अल नेपाल बुटवल मेयरकप खुला स्नुकर प्रतियोगिताको फाइनलमा हेटौंडा सोम लामा प्रवेश गर्नुभएको छ । बुधबार बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा भएको सेमिफाइनल खेलमा काठमाडौं महानगरपालिकाका वानच्यु तामाङलाई ६–४ को सेटले हराउँदै लामा फाइनलमा प्रवेश गर्नुभएको हो ।
यसअघि मंगलबार भएको क्वार्टरफाइनल चरणको खेलमा सोमले काठमाडौं महानगरपालिकाकाकै कुमार शाहीलाई ५–१ को सेटले पराजित गर्दै सेमिफाइनलको यात्रा पूरा गर्नुभएको थियो । हेटौंडाकै अर्का खेलाडी नितेश खण्डेलवाल बुटवलका रेगन श्रेष्ठसँग ५–१ को सेटले पराजित हुनुभएको थियो ।
बुटवलका गणेश दर्लामी मगरलार्ई हराउँदै सोमले टप १६ मा स्थान बनाउनुभएको थियो भने पाल्पाका कुनाल श्रेष्ठलाई ५–२ को सेटले पराजित गर्दै सोमले क्वार्टरफाइनलको यात्रा पूरा गर्नुभएको थियो । शनिबार हुने फाइनल खेलमा जीत निकाल्दै बुटवलमा जारी सर्वाधिक राशिको स्नुकर प्रतियोगिताको उपाधि जित्ने योजना बनाएका उहाँको भनाइ छ ।
नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एसोसिएसन रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा हेटौंडामा भएको मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि विजेता प्रयास कर्माचार्य, उपविजेता जिनेश श्रेष्ठ, तृतीय हुनु भएका मिथुन लामा, बिनय लामा, नितेश खण्डेवाल, सृजना कार्की र नवीन गुरुङ पनि प्रतियोगितामा सहभागी भएका थिए । हेटौंडाबाट सहभागी भएकामध्ये लामाले सेमिफाइनलको यात्रा पूरा गर्न सफल भएको हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने उहाँले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, इटहरी, बिर्तामोड, बनेपा, परासीलगायतका ठाउँबाट करिब २ सय ५० जनाको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।