हेटौंडा अस्पतालमा स्वास्थ्य उपचार सुविधा थपिँदै गएको छ । विशेषज्ञ चिकित्सकसहित विभिन्न रोगको उपचार सुविधा अस्पतालमा थप हुँदै गएको हो । बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) मातहतमा हेटौंडा अस्पताल सञ्चालन भइरहेको छ । राजनीतिक रुपमा हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग बनाउनुपर्ने माग उठिरहेको भए पनि प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा तथा सुविधा विस्तार र सुधार हुँदै गएको छ । केही दिनदेखि हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहतबाट अलग गराउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान सञ्चालन भइरहँदा अस्पतालमा मुटुरोग उपचार सुरु हुने समाचार सार्वजनिक भएको छ । केही वर्षदेखि स्नातक तहको मेडिकल शिक्षाका केही विषयहरु पठनपाठन गराइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस वर्षबाट स्नातकोत्तर तह (पिजी) अध्यापनका लागि आठ सिट पाएको छ ।

प्रतिष्ठान मातहतमा हेटौंडा अस्पताल सञ्चालन सुरु भएपछि अस्पतालको भौतिक तथा स्वास्थ्य सेवामा धेरै नै विकास र विस्तार भएको छ । सबैजसो रोगको विशेषज्ञ चिकित्सकसहित उपचार हुने गरेको हेटौंडा अस्पतालमा मुटु स्वास्थ्यसम्बन्धी सेवा विस्तारको तयारी भएको हो । प्रतिष्ठानले हेटौंडा अस्पतालमा आगामी साताबाटै मुटु रोगसम्बन्धी सेवा सुरु गर्ने तयारी गरेको जनाइएको छ । लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा मुटु रोगको परीक्षण तथा उपचार सेवा सुरु हुन सकेको थिएन । अस्पतालमा मुटु रोगसम्बन्धी उपचारका लागि आवश्यक उपकरण भए पनि विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । मुटु स्वास्थ्य विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भएलगत्तै सेवा सञ्चालनको तयारी गरिएको बताइएको छ । अस्पतालमा मुटु स्वास्थ्य सेवा सुरु भएपछि मुटुसम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

हेटौंडामा कुनै पनि अस्पतालमा नियमित मुटु रोग परीक्षण तथा उपचार सेवा नभएको अवस्थामा मुटु स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई धेरै असुविधा भइरहेको थियो । हेटौंडामै मुटु रोगको उपचार सहज बनाउन रोटरी क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्यको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । करिब एक वर्षअघि नै उपकरण प्राप्त भए पनि अस्पतालले मुटु स्वास्थ्यसम्बन्धी विशेषज्ञ डाक्टर नियुक्ति गर्न नसक्दा सेवा सुरु हुन सकेको थिएन । मुटु रोग विशेषज्ञ डाक्टरसहित सेवा सुरु भएपछि इको, ईसीजी, टीएमटीजस्ता मुटु रोगको परीक्षण र उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्नेछ । प्रतिष्ठानको पहलमा संघीय सरकारले टिचिङ हस्पिटलबाट अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. पठाउने भएपछि अस्पतालले उपचार सेवा सुरु गर्ने तयारी गरेको हो । प्रतिष्ठानले पनि एक साताअघि एक जना मुटु स्वास्थ्य विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको छ । दुई जना विशेषज्ञ डाक्टरबाट हाल ओपिडी सेवा सञ्चालन गर्ने अस्पतालको तयारी छ ।

पछिल्ला दिनहरुमा अस्पतालको सेवा विस्तार हुँदै जाँदा बिरामीको चाप पनि बढिरहेको छ । करिब ५–६ वर्ष अघिसम्म सामान्य रोगको उपचारसमेत नभएर रिफर गर्नुपर्ने अवस्थाको हेटौंडा अस्पतालबाट अहिले सुविधासम्पन्न भौतिक पूर्वाधार, थुप्रै विशेषज्ञ चिकित्सक र स्वास्थ्य परीक्षण उपकरणसहित सेवा प्रवाह भइरहेको छ । अस्पतालको निर्माणाधीन भवन सञ्चालनमा आएपछि मुटु स्वास्थ्य तथा अन्य रोगहरुको शल्यक्रियाका साथै अन्य सेवा विस्तारमा सहज हुनेछ । हेटौंडा अस्पतालले सबै प्रकारका रोगहरुको उपचार गर्ने गरी सेवा थप गरिरहँदा अस्पतालको स्वामित्व विवाद भने निराकरण हुन सकेको छैन । बागमती प्रदेश सरकारले बनाएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत सञ्चालन गर्ने व्यवस्थाको पक्ष र विपक्षमा देखिएका राजनीतिक दलहरुका कारण अस्पतालको विकास र सेवा विस्तारमा असर पर्नु उचित हुँदैन ।