निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव आइतबार सकिएको छ । फागुन ६ गतेबाट सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव १३ दिनसम्म चलेको थियो । निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनीसँगै बिक्री कार्यलाई जोड दिइएको आयोजकको दावी छ । महोत्सवबाट निर्माण सामग्री उद्योगी, बिक्रेता र प्रयोगकर्ताबीच सोझो सम्पर्क हुनुका साथै यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन भएको बताइएको छ । निर्माण व्यवसायीहरु आफ्नै समस्यामा रहेको अवस्थामा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव सफल भएको दावी गरिएको छ । हेटौंडा–१० स्थित टिसीएन चौरमा भएको महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको संघले जनाएको छ । महोत्सवमा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको बताइएको छ । महोत्सवको आम्दानी तथा खर्चको विवरण नआएको भए पनि बचेको रकम निर्माण व्यवसायी संघको नयाँ भवन निर्माणमा प्रयोग गरिने जानकारी दिइएको छ ।
कोभिड–१९ को महामारी अगाडि हेटौंडामा वर्षेनि व्यापार महोत्सव हुने गर्दथ्यो । त्यतिबेला मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ मकवानपुरले आलोपालो गरेर प्रत्येक वर्ष महोत्सव आयोजना गर्दथे । केही वर्ष सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा पनि महोत्सव गरिएको थियो । करिब ७–८ वर्ष अगाडि हुने गरेको महोत्सवहरुमा दुई लाखको हाराहारीमा अवलोकनकर्ता र आठ–दश करोड रुपियाँसम्मको व्यावसायिक कारोबार हुने गर्दथ्यो । त्यस आधारमा निर्माण व्यवसायी संघ मकवानपुरले यस वर्ष आयोजना गरेको महोत्सवमा अवलोकनकर्ताको उपस्थिति र कारोबार रकम न्यून मान्न सकिन्छ । समग्र आर्थिक क्षेत्रमा मन्दीजस्तै अवस्था रहेको समयमा गरिएको महोत्सवमा व्यावसायिक कारोबार कम हुनु स्वभाविक हो । अर्कोतर्फ महोत्सव आयोजकले कति दर्शकले अवलोकन गर्छन् र कति रकमको कारोबार हुन्छ भन्ने अनुमानसमेत सार्वजनिक नगरेको अवस्थामा महोत्सव अवलोकनकर्ताको संख्या र कारोबार रकम कम वा बढी भन्न मिल्ने अवस्था देखिँदैन ।
जोकसैले व्यापार महोत्सव आयोजना गर्नु भन्दा पनि महोत्सव फलदायी भयो वा भएन भन्ने विषय महत्वपूर्ण हुन्छ । महोत्सवमा कति आम्दानी र खर्च भयो भन्ने कुराले पनि महत्व राख्दछ । महोत्सवबाट हुने बचतको सदुपयोग र महोत्सवको आम्दानी–खर्चको पारदर्शिता भएन भने महोत्सव निरर्थक हुन्छ । विगतमा पनि विभिन्न संघसंस्थाले आयोजना गरेका यस्ता व्यापार महोत्सवको पारदर्शिताको विषयमा आवाज उठ्ने गरेको हुँदा आयोजकले समयमै वास्तविक हिसाब सार्वजनिक गर्नु आवश्यक हुन्छ । महोत्सव उत्पादक वा बिक्रेता र क्रेताबीच सिधा सम्पर्कको माध्यम हुने गरेको छ । अधिकांश महोत्सवमा आउने दर्शकले आवश्यक सामान खरिद गर्ने गर्दछन् । तर, महोत्सवको नाममा गुणस्तरहीन वस्तु वा सेवाको कारोबारले प्राथमिकता पाएको थियो वा थिएन भन्नेतर्फ पनि महोत्सवका आयोजकहरु सतर्क हुनुपर्छ ।
निर्माण व्यवसायी संघले महोत्सव आयोजना गर्ने तयारी गरेपछि मकवानपुर उद्योग वाणिज्य संघले स्थानीय व्यवसायीको कारोबारमा असर पुग्ने भन्दै महोत्सव नगर्न आग्रह गरेको थियो । उद्योग वाणिज्य संघले स्थानीय प्रशासन तथा स्थानीय सरकारको ध्यानाकर्षण गराए पनि महोत्सव भयो । महोत्सवमा विगतमा जस्तै थुप्रै राष्ट्रिय स्तरका कलाकारको दैनिक मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । बिक्रीमूलक, प्रदर्शनीमूलक, मनोरञ्जनात्मक, सांस्कृतिक सबै पक्ष समावेश भएको महोत्सवको सकारात्मक वा नकारात्मक पक्षहरु विस्तारै उजागर हुँदै जाला । जुन उद्देश्यले महोत्सव आयोजना गरिएको थियो, त्यो पूरा भयो वा भएन भन्ने बारेमा हुने समीक्षाबाट महोत्सवको सफलता मापन गर्न सकिन्छ । अहिलेलाई आयोजकले महोत्सव सहजरुपमा सम्पन्न गरेको छ, त्यही नै महोत्सवको सफलता मान्नु उचित हुनेछ ।