अर्को वर्ष १८ नम्बर वडाले प्रायोजन गर्ने
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा भएको मैत्रीपूर्ण महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयले जितेको छ । शनिबार हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भलिबल कोर्टमा भएको फाइनल खेलमा हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयलाई २–१ को सेटले हराउँदै ज्योति माविले उपाधि जितेको हो ।
ज्योति माविले प्रगति माविलाई २५–२२, २४–२६ र १५–१२ को सेटले हराएको हो । यस्तै, हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालय तृतीय भएको छ । शनिबार नै भएको तेस्रो स्थानको खेलमा कृष्ण आधारभूत विद्यालयलाई २–० को सोझो सेटले हराउँदै चन्द्रोदय तृतीय भएको छ । चन्द्रोदय माविले कृष्ण आधारभूतलाई २५–१९ र २५–१६ को सेटले हराएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७ हजार, ५ हजार, ३ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वनास्वरुप कृष्ण आधारभूत विद्यालयलाई नगद एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुईंटेलको सभाध्यक्षमा पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको थियो । पुरस्कार वितरण तथा समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइराला, वडाअध्यक्षहरु नवीन सिग्देल, अनिल बानियाँ, जुना दाहाल र रामकृष्ण थापा, राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेको पनि उपस्थिति रहेको थियो ।
यसैबीच १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँले अर्को वर्ष नगरस्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता आफ्नो वडाको प्रायोजनमा आयोजना गर्ने घोषणा गर्नुभयो । यस्तै ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो । नगरस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न करिब एक लाख रुपैयाँ खर्च भएको अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभएको छ ।