हेटौँडा : अखिल नेपाल महिला संघ (अनेमसंघ) क्रान्तिकारी मकवानपुरको अध्यक्षमा सानुमाया सी चयन हुनुभएको छ । शुक्रबार हेटौँडा–१९, बस्तीपुरमा भएकोे तेश्रो भेलाले सानुमाया सी को अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको हो । अनेमसंघ क्रान्तिकारीको उपाध्यक्षमा अनिशा सी, सचिवमा शान्ति सी, सहसचिवमा विपना सी, कोषाध्यक्षमा शुक्रमाया चयन हुनुभएको छ ।
अनेम संघ क्रान्तिकारी मकवानपुरका संयोजक सानुमाया सीको अध्यक्षतामा तथा नेकपाका केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष भृकुटी सीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह भएको हो । नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले १० वर्षे जनयुद्धले महिलालाई घरदेखि बाहिर आएर मन्त्री तथा सभासद् बन्न सक्ने साहस र क्षमता प्रदान गरेको बताउनुभयो । उहाँले नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापनार्थ आन्दोलनरुपी रथको एक पांग्राको रुपमा महिलाहरु सहभागी हुनुपर्ने बताउनुभयो ।
अधिवेशनको अवसरमा साहसी महिला माइलीमाया थोकरलाई सम्मान गरेको छ । महिलाहरु केवल घरायसी कामकाज र बच्चा जन्माउने साधनको रुपमा मात्र प्रस्तुत नभई पुरुष बराबर आर्थिक आयआर्जनको कार्यमा पनि सहभागी भई अधुरो रहेको क्रान्तिलाई पूरा गर्ने आन्दोलनमा जुट्नुपर्ने सम्मानित महिला माइलीमाया थोकरले बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला सेक्रेटरी पेमा सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सचिवालय सदस्य एवम हेटौँडा उपमहानगरपालिका इन्चार्ज विवेक सी र अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज एवम नेकपा मकवानपुरका सचिवालय सदस्य तथा मनहरी गाउँपालिका सेक्रेटरी सूर्य सीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अखिल (समाजवादी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुवास सी, अखिल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा मकवानपुरका अध्यक्ष सुकुलाल सी लगायतको आतिथ्य रहेको छ ।