हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बिहीबार भएको घटना शंकास्पद देखिएको छ । चोर भनी प्रतिकार गर्दा आफ्नै छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका–३, अदुवाबारीका ३९ वर्षीय भरथकुमार भ्लोन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहीबार रातिको समयमा चोरी गर्न आएको भनी मिनबहादुर र उनकी श्रीमती देवीमाया भ्लोनले घरेलु औजारले हिर्काउँदा गम्भीर घाइते भएको भनिएका भरथ कुमारको उपचारको क्रममा भरतपुरस्तिथ सरकारी अस्पतालमा मृत्यु भएको छ । प्रहरीका अनुसार भ्लोनको शुक्रबार दिउँसो पौने २ बजे मृत्यु भएको हो ।

बिहीबार राती घरमा चोरी गर्न आएको भन्दै आक्रमणमा परेर गम्भीर घाइते भएका अज्ञात व्यक्तिलाई हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको थियोे । चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी मिनबहादुर र उनकी श्रीमती देवीमायालाई आँखामा खुर्सानीको धुलो छरेको र देवीमायाले घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका भरथकुमार गम्भीर घाइते भएको प्रहरीले जनाएको थियो ।

आक्रमणमा परेर घाइते हुँदै उपचारको क्रममा मृत्यु भएका व्यक्ति मिनबहादुर र देवीमायाकै छोरा भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । ‘चोरी गर्न आएको भनी मिनबहादुर र देवीमायाको आक्रमणबाट घाइते भएका व्यक्तिको सुरुमा परिचय खुलेको थिएन । उनको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेको थियो । हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर पठाएका थियौं । उपचारको क्रममा उनको मृत्यु भएको हो,’ डीएसपी अर्यालले भन्नुभयो, ‘पछि मिनबहादुर र देवीमायाकै छोरा भएको पुष्टि भएको हो ।’

प्रहरी प्रवक्ता अर्यालले घटनामा भ्लोन दम्पती पनि घाइते भएको बताउनुभएको छ । उहाँका अनुसार मिनबहादुरको बायाँ हातको औंला र करङको हड्डी तथा देवीमायाको करङको हड्डी भाँचिएको र उपचारका लागि परिवारले काठमाडौं लगेको जानकारी दिनुभयो । घटनाको जानकारी पाए लगतै सिस्नेरी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले तीनैजनालाई उद्दार गरी उपचारका लागि अस्पताल ल्याएको प्रवक्ता अर्यालको भनाई छ ।

प्रवक्ता अर्यालले सुरुमा आज्ञात भनिएका व्यक्ति भ्लोन दम्पतिको जेठो छोरो पुष्टि भएको र घटना शंकास्पद भएकोले थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताउनुभयो । ‘घरमा बृद्ध दम्पति मात्रै बस्दै आएको स्थानीयले बताएका छन् । भरथकुमार आफ्नै घरमा चोरी गर्न आएको देखिन्छ । बृद्ध दम्पतीको आँखामा खुर्सानीको धुलो छर्केर चोर्ने प्रयास गरेपछि प्रतिकार भएको भन्ने जानकारीमा आएकोले घटना शंकास्पद छ’, डीएसपी अर्यालले भन्नुभयो, ‘घटनाका विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ मृतक भरथकुमार काठमाडौं बस्दै आएको र ४ वर्षदेखि घर नआएको स्थानीयले जानकारी दिएको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो । प्रवक्ता अर्यालले घटना शंकास्पद भएकोले मृतकका बाबु–आमा दुबैको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।