मनहरी : मकवानपुरको मनहरी गाउँपालिकामा यही फागुन २१ गतेबाट मनहरी खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजना, गाउँ कार्यपालिकाको संरक्षण र एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा फागुन २१ गतेदेखि चैत ४ गतेसम्म खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो ।
खेलकुद तथा व्यापार महोत्सव वडा–८ स्थित सिम्पानीको खेल मैदानमा हुनेछ । बिहीबार आयोजक समितिका सदस्य चन्द्र सिंह स्याङ्तानले गाउँपालिका वडा नम्बर–३ स्थित लामिटारको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै खेलकुद तथा व्यापार महोत्सवको बारेमा जानकारी गराइएको छ ।
गाउँपालिकाको स्थानीय स्तरमा खेलाडीको पहिचान गराउन, खेलको प्रवद्र्धन गर्न, व्यापार प्रवद्र्धन गर्न र एक अर्काबीच भातृत्वको सम्बन्ध कायम गराउन खेलकुद महोत्सव गर्न लागेको सदस्य स्याङ्तानले बताउनुभयो । महोत्सवमा करिब २ सयको हाराहारीमा स्टलहरु रहने उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा विभिन्न राष्ट्रियस्तरको कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।
महोत्सवमा फुटबल, भलिबल, ब्याडमिन्टन, टी–१० क्रिकेट, एथ्लेक्टिक्सलगायतका खेलहरू सञ्चालन हुने उहाँले बताउनुभयो । महोत्सवबाट ५ करोड रूपैयाँको कारोबार हुने आयोजकको अनुमान रहेको छ । महोत्सवमा १ लाखको हाराहारीमा दर्शकहरूले भ्रमण गर्न आउने अनुमान गरिएको छ ।
फुटबलको उपाधि विजेता टिमले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्रिकेटको विजेता र उपविजेताले ३० हजार र २० हजार रूपैयाँ प्राप्त गर्नेछन् । भलिबलको विजेताले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने व्याड्मिन्टनको बिजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।