१. हुन त काम पाएको भए र रोजगारीको अवसर हुँदो हो त जीविकोपार्जनकै लागि बिदेशिनु पर्ने थिएन । कुनै पनि व्यक्ति रहरले होइन, बाध्यता भएर नै मरुभूमिमा उँट चराउन जानु परेको हो । ५० डिग्रीको उष्णता खपेर चिन्नु न जान्नु परदेशीको काम गर्न जाने स्थिति मार्मिक र हृदयविदारक भन्नैपर्छ । खाडी बाहेक अन्य मुलुकमा जानेलाई पनि कसैले डलरको माला लिएर स्वागत गर्ने चाहीँ होईन । आफ्नो देशमा न रोजगारीको अवसर छ न सीपमूलक तथा व्यावसायिक शिक्षाले प्रश्रय पाएको छ । छ भने मात्र, भ्रष्टता र दूराचार छ । कर तिर्न त घूस दिनुपर्ने मुलुकमा जीवन निर्वाह नै पीडादायी बनेको छ । मुठ्ठीभरलाई त हिजो पनि मस्ति नै थियो आज झनै मज्जा भएको छ । दक्ष युवा जनशक्तिलाई काम दिन नसकेकै कारणले दिनदिनै बिदेश पलायन हुनेको संख्या बढिरहेको छ । योग्यता र क्षमताले यहाँ अवसर पाउने अवस्था बिरलै भेटिन्छ । रोजगारीको प्रकृति हेरेर घूस तोकिएको हुन्छ, जुन रकम बुझाएर त बिदेशिनु नै राम्रो भन्नेहरु धेरै भेटिएका छन् । बिचौलियाहरुको जगजगीले सामान्य नागरिक प्रताडित बनेको तथ्य जगजाहेर छ । अत्यन्त चिप्ला र जादुमयी नारा र भाषणले वातावरण थप निराशाजनक र ईरिटेड बनेको पाईन्छ ।
२. यहाँ काम गर्न अल्छी मान्ने, लाज लाग्ने अनि बिदेशमा गएर भाँडा माझ्ने, भेडा चराउने, तरकारी खेती गर्ने, गाई पाल्ने, भवन बनाउने, सडक पुल बनाउने, गार्डिङ गर्ने, ड्राईभिङ गर्ने, कारखानामा मजदूरी गर्ने, अधिकांशको स्थिति यहि हो । त्यहि काम आफ्नो भूमीमा गरेर यहिँ बसे आफ्नो जीविका पनि चल्ने देश पनि समृद्ध हुने र परिवार तथा आफन्तजनबाट टाढिनु पनि नपर्ने, कुरो किन नबुझेको भनेर प्रश्न गर्नेहरुको संख्या पनि कम छैन । ऋण लिएर पशुपालन गर्यो दूध सडकमा पोख्नु पर्ने, बल्लतल्ल दुध बेच्यो छ महिना बित्दा पनि पैसा पाईंदैन । लगानी गरी मिहिनेत गरेर तरकारी उब्जायो, बिक्री हुँदैन, तरकारीसहित खेतबारीमा ट्र्याक्टर लगाएर जोत्न पर्दाको स्थिति अनि टमाटर लगेर सडकमा फाल्ने अवस्था कति पीडादायी छ भनेर भन्नेहरु पनि कम छैनन् । जुम्लाको स्याउ नबिकेर तमाशा बन्दै गर्दा बिदेशबाट आयातित स्याउले बजारमा पकड कायमै गरिरहेको हुन्छ । बिदेशबाट फर्केर केहि सीप सिकेर यहीँ नै कुनै पेशा व्यवसाय गरेर बसौं न भन्दा हालत झनै सकसपूर्ण बन्दा कसैले सहयोग गर्दैन भन्नेहरु पनि कम छैनन् । सरकारी नीति र बैंकहरुको व्यवहारले त कतिपयलाई आत्महत्या गर्न बाध्य बनाएको धेरैलाई थाहा छ । बाढीले भत्काएको घर र बगाएको घरबारीको स्थानमा बगर हेरेर कसरी बाँच्ने भन्दा जवाफ दिन सकिने स्थिति छैन । सामान्य नागरिकले आफू बाँचेर नेपालमा बास व्यवस्थापन गर्न त झनै जटिल छ नै । अझ शिक्षा र स्वास्थ्यको खर्च कहालीलाग्दो देखिन्छ ।
३. निश्चय नै दक्ष र देशले खोजेको जस्तो नभए तापनि हामीसँग सीप र जनशक्तिको अभाव नै भन्नु पर्ने बेला भने होईन । सरकारी सेवाबाट अवकाश पाएका कैयौं जनशक्ति बिदेशमा आआफ्नो सीप र क्षमता अनुसार काममै निरन्तर छन् । राज्यको लगानी भएका त्यस्ता व्यक्तिहरुको पहिचान गरी उपयुक्त काममा लगाउँदा हरेक कोणबाट देशलाई फाईदा पुग्छ नै । ईन्जिनियरहरु, डाक्टरहरु, सरकारी सेवाका उच्च पदस्थ कर्मचारीहरु, शिक्षकहरु, प्राध्यापकहरु, कृषि तथा वनका विज्ञहरु जस्ता दक्ष र क्षमतावान व्यक्तिहरु जो क्रियाशील बन्नेहरुलाई सरकारले उपयोग गर्न सकेमा राष्ट्रलाई फाइदा पुग्दछ भन्दा बिमती नहोला । कतिपय शारीरिक रुपले अशक्त र असहज रहेकालाई छाडेर उर्जावानहरुलाई उनीहरुको विषयगत क्षमताका आधारमा कामको जिम्मेवारी दिने कामले मुलुकको समृद्धिमा उल्लेख्य योगदान पुगेको उदाहरण त जापान, अष्ट्रेलिया, अमेरिका, बेलायत, चीन, आदि राष्ट्रहरुबाट हामीले पनि सिक्न चाहेमा सकिन्छ । यस्ता सरकारी क्षेत्रबाट अवकाश प्राप्त व्यक्तिहरुलाई राज्यले उपयोग गर्ने सवालमा भिन्न कानून बनाएर कार्यान्वयन गर्ने सवालमा आवश्यक बहस विश्लेषण जरुरी भइसकेको छ । प्रहरी र सेनामा पेन्सन हुने बित्तिकै जागिर छाडेर कि बिदेशमा जाने कि भने यहिँ नै गैरसरकारी सेवामा प्रवेश गर्ने चलन त पुरानै हो । सरकारी तथा अर्धसरकारी क्षेत्रमा यी प्रकृतिका जनशक्तिको उपयोग गर्दा राज्यको लगानी स्वभाविक घट्न सक्दछ ।
४. नेपालमा उच्च पदस्थ कर्मचारीहरु मुख्य सचिव, न्यायाधीशहरु, सचिवहरु, सहसचिवहरु, उपसचिवहरु, अधिकृतहरु मध्ये विभिन्न भागबण्डाका कोणबाट कतिपय राजदूतहरु, संवैधानिक आयोगका पदाधिकारीहरु र राजनीतिक नियुक्तिका पदहरुमा नियुक्ति पाएको पाईन्छ । यस्ता नियुक्तिहरुमा शिक्षक तथा प्राध्यापकहरुको भने अत्यन्त झिनो उपस्थिति मात्र छ । शिक्षकहरुको संख्या कम भएको भन्दै विज्ञापन भैरहँदा अवकाश प्राप्त ठूलो संख्यालाई उपयोगमा ल्याउँदा बढि उपयुक्त हुन सक्छ । बहालवाला शिक्षकलाई काजमा श्रोत शिक्षक बनाएर पठाउनु भन्दा अवकाश प्राप्तलाई उपयोग गर्दा फाईदा हुने कुरा हाम्रा स्थानीय तहले बुझेर पनि बेवास्ता गरेको देखिन्छ । तालिमका सवालमा, अनुगमनका काममा अवकाश प्राप्त शिक्षक, कर्मचारी समेतलाई खटाउँदा राम्रो हुन्छ । हप्तामा एक वा दुई कक्षा लिएर अन्यत्र व्यस्त रहेका त्रिविविका प्राध्यापकहरुलाई सामुदायिक कलेजमा पायक पर्ने गरी पठाउने हो भने विश्वविद्यालयस्तरको शिक्षामा गुणात्मक फड्को हुनेमा शंका छैन । सरकारी अस्पतालबाट अवकाश प्राप्त डाक्टरहरुलाई पुन करारमा पहिलेकै ठाउँमा निरन्तरता दिने हो भने सेवा प्रभावकारी बन्दछ । त्यस्तै वित्तीय सेवाका कर्मचारीहरुलाई बैंक तथा सहकारीहरुमा सेवा निरन्तरता दिन सकिन्छ । यसो गर्दा त्यस्ता कर्मचारीले पेन्सन त पाइरहेका छन् नै, त्यस्मा अवकाश प्राप्तहरुलाई भने कम पारिश्रमिक थपेर पहिलेको बराबर बनाउँदा न्यायोचित हुन्छ ।
५. विद्यमान जनशक्तिको व्यवस्थापन सरकारी चुनौति हो भन्नै पर्दछ । नयाँ जनशक्ति प्रवेशका सवालमा थप गम्भीर बहस गरिनु पर्दछ । यी सबै विश्लेषण गरिरहँदा मुलुकको आर्थिक अवस्थाको समेत स्वस्थता हाम्रो प्रमुख मुद्दा हो । नीति निमार्णका सवालमा, योजना तर्जुमा गर्दा, सल्लाह सुझावका काममा र कतिपय काम गरेर देखाउने स्थितिमा समेत देशका अवकाशित कर्मचारीहरु पर्याप्त उपयोग देशले खोजिरहेको छ । विकसित मुलुकहरुबाट सिक्नैपर्ने यो एक उदाहरण बन्न सक्दछ । जसरी हामीले लगाएको खेती बालीबाट अधिकतम उत्पादन लिने काम हुन्छ त्यसै गरी राज्यले लगानी गरेका कर्मचारी वर्गबाट पनि अधिकतम फाईदा लिनै पर्दछ । काममा लगाउने वातावरण त सरकारले श्रृजना गर्ने हो । हाम्रा तीनै तहका सरकारहरु यस्ता कुराहरुबाट अनभिज्ञ भने छैनन् । छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुसँग सेवा–करार गरे जस्तै नवप्रवेशी शिक्षक, कर्मचारी, प्राध्यापक, सेना, प्रहरी, प्राविधिक सबैलाई शर्त गराउन पनि त सकिन्छ ।
६. अन्तमा, यो आलेख जनशक्ति व्यवस्थापनका सवाल एक गम्भीर बहस बनोस भन्नेमा केन्द्रित छ । जनशक्ति व्यवस्थापन भित्र ठीक मान्छे ठीक ठाउँमा भन्ने नीति पर्दछ । आज सरकारी कार्यालयहरुसँगै शिक्षण संस्थाहरु अनि संगठित सरकारी संस्थाहरुको पहिलो समस्या नै जनशक्तिको व्यवस्थापन हो भन्दा अतिशयोक्ति नहोला । असल अभ्यासहरु र राम्रा उदाहरणहरु जहाँबाट पनि सिक्न सकिन्छ । हालको अवस्थामा परिवर्तन नगर्ने हो भने केहि वर्ष पछि राज्यले पेन्सनको आर्थिक भार बहन गर्न जटिल बन्ने स्थिति टड्कारो छ । एकातर्फ सरकारी सेवाका कर्मचारी तथा शिक्षकलाई पर्याप्त पारिश्रमिक दिन नसकेर सरकार आलोच्य बन्दै जाँदा जनशक्ति व्यवस्थापनले ठूलै रुप लिन सक्दछ । (लामिछाने सेवानिवृत्त शिक्षक हुनुहुन्छ ।)











