सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा ३ जनाको मृत्यु भएको छ भने धादिङमा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–३, बान्द्रेस्थित आग्राखोलामा माटोको ढिस्कोले पुरीएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका–११ घर भई हाल बान्द्रे बस्ने २७ वर्षीय राजु बल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा माटोले पुरीएर बल र खोटाङ जिल्ला बारापोखरी गाउँपालिका–४ घर भई हाल बान्द्रे बस्ने ४२ वर्षीया नम्रता राई घाइते भएका थिए । घाइते दुवैलाई टाइम्स केयर अस्पताल महादेववेशि लगिएकामा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौ ट्रमा सेन्टर लगिएको थियो । बलको साँझ ६ बजेर ४५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१, सापिङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय श्रीकृष्ण गिरी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो १ बजेर २० मिनेटको समयमा गिरी आफ्नै घरदेखि पर सापिङ आङगे खोल्साको तिन तले भिरबाट ४० मिटर तल खसेर मृत अवस्थामा फेला परेका थिए । मृतक गिरी डिप्रेशनको बिमारी रहेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८, बनेपा नगरपालिका भवन अगाडि एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा बनेपा नगरपालिका–६, बुडोल बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ६ बजेको समयमा शर्मिला होटल भ्यु एण्ड पाहुना घरको दोस्रो तल्लामा मृत अवस्थामा फेला परेकी थिइन् । शर्मिला बुधबारदेखी हराएकी थिइन् ।

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१, कानाकोटमा सुक्खा पहिरो खस्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका–३, बस्ने ३८ वर्षीय दुर्जन माझी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो ३ बजेको समयमा वृदा आश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो खसि सोहि भवनको दोस्रो तल्लाको पिल्लर ढली रडले टाउकोमा लाग्दा माझीको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।