कबड्डी प्रतियोगिताको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : हेटौंडामा सञ्चालन भइरहेको पालिकास्तरीय राष्ट्रिपति रनङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत कबड्डीतर्फ प्रगति माविले स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फ हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले स्वर्ण जितेको छ । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहिबार सुरु भएर बिहिबारै सम्पन्न भएको फाइनल खेलमा महिलातर्फ प्रगति माध्यमिक विद्यालयले ४५–११ को अंकले चन्द्रोदय माध्यमिक विद्यालयलाई हराएको छ भने पुरुष तर्फको खेलमा पनि प्रगति माविले ४१–३७ ले चन्द्रोदय माविलाई हराएको छ । प्रतियोगितामा महिला र पुरुषको ३÷३ वटा टिमको सहभागिता रहेको संयोजक सुमन नेपालीले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा सहभागी भएका मध्य उत्कृष्ट खेलाडीहरुलाई छनौट गरेर जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराउने संयोजक सुमन नेपालीले बताउनुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु जिल्लास्तरीय हुँदै प्रदेशस्तरीयसम्मको प्रतियोगितामा सहभागिता जनाउने पाउने उहाँले बताउनुभएको छ । प्रतियोगितामा विजेता र उपविजेता बनेका खेलाडीहरलाई भोलि हुने समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने बताइएको छ । उसु, कराँते र भलिबलको फाइनल खेल भोलि सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा महिला तर्फ शान्ति थिङ र पुरुषतर्फ सचिन मिश्रा उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा ३८ वटा विद्यालयबाट खेलाडीहरुको सहभागिता रहेको छ ।

गत वर्षको प्रतियोगितामा हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि प्रथम भएको थियो । ९ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित जनप्रिय मावि प्रथम हुन सफल भएको थियो । प्रतियोगितामा हेटौंडा–९ स्थित प्रगति मावि द्वितीय भएको थियो । प्रगति माविले ९ स्वर्ण, २ रजत र २ कास्य पदक जितेका थियो । समान ४ स्वर्ण, २ रजत र २ कास्यसहित हेटौंडा–१८ स्थित ज्योति मावि र हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि तेस्रो स्थानमा रहेका थिए ।