हेटौँडा : आईतबारदेखि परिवारसँग सम्पर्कविहिन हेटौँडा–११, थानाभर्याङकी किशोरी शिखा अगस्ती मकवानपुरको बकैया गाउँपालिका–४, कर्मचुलीमा भेटिएकी छिन् । बुधबार दिउँसो २ बजेर ४० मिनेटको समयमा कर्मचुलीमा शिखा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्मामु अर्यालले जानकारी दिनुभयो ।
गत आईतबार हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयबाट घर फर्केकी १६ वर्षीया शिखा अगस्ती सम्पर्कबिहिन भएकी थिइन् । ११ कक्षामा अध्ययनरत विद्यार्थी शिखा सम्पर्कविहिन भएको भनी सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रचारप्रसार भएपछि बकैयाका स्थानीयले शिखाको विषयमा जानकारी गराएको प्रहरीले उल्लेख गरेको छ । शिखा कसरी, कोसँग त्यहाँ पुगी भन्ने विषयमा सोधपुछ हुन बाँकी रहेको र शिखालाई जिल्ला प्रहरी कार्यालय ल्याउने कार्य भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।