अन्तरक्रिया कार्यक्रममा सहभाागी अभिभावकहरु ।

हेटौंडा : मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयमा अभिभावक शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । सोमबार स्थर बेन्जामिन स्मृति संस्थाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभएको छ ।

संस्थाले यस वर्ष विद्यालयका २५ जना बालबालिकालाई एक वर्षको शैक्षिक सामग्री सहयोग गरेको थियो । संस्थाले बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायत सामान प्रदान गरेको प्रधानाध्यापक थापाले जानकारी दिनुभएको छ ।

संस्थाले गरेको सहयोगबाट विद्यार्थीहरु पठनपाठनमा भएको परिवर्तनबारे बुझ्न अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । अभिभावकहरुले विद्यार्थीहरुले पठनपाठनमा रुचि देखाएको, सहयोगबाट खुसी प्रदान भएको बताएको उहाँको भनाइ छ ।

संस्थाले मकवानपुरगढी गाउँपालिकामा यस वर्षदेखि सहयोग गरेको हो । संस्थाले विद्यालयलाई शौचालय निर्माण तथा खानेपानी व्यवस्थापनमा समेत सहयोग गरेको थियो । कार्यक्रम चाइल्ड रेस्क्यु नेपालको सहयोग तथा मकवानपुरगढी गाउँपालिकाको समन्वयमा भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा २० जना अभिभावकको उपस्थिति रहेको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ५५४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।