फाइल तस्वीर ।

हेटौंडा : मकवानपुरगढी गाउँपालिकाबाट यस वर्ष आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षामा ४७८ जना विद्यार्थी सहभागी हुने भएका छन् । गाउँपालिकाभित्र रहेकोे १६ वटा विद्यालयबाट ४७८ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिने गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिकाको १ देखि ८ नम्बर वडामा रहेका १६ वटा विद्यालयमध्ये सबैभन्दा धेरै मकवानपुरगढी–५ मा रहेको शारदा माविबाट ५८ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा कम गाउँपालिका–४ स्थित ज्वालादेवी आधारभूत विद्यालय (आवि)बाट ११ जना विद्यार्थी सहभागी हुने सहजकर्ता फुयालले बताउनुभयो ।

यस वर्ष आधारभूत तह परीक्षामा रानीशेरा माविबाट ४० जना, हेमकर्ण आविबाट ३९ जना, चण्डिका माविबाट २५ जना, वंशगोपाल माविबाट ३९ जना, भानु माविबाट ५२ जना, मनकामना माविबाट १५ जना, आधारभूत शिक्षा आविबाट २७ जना विद्यार्थी सहभागी हुनेछन् । यस्तै, जाल्पादेवी माविबाट ३० जना, जनता माविबाट ३७ जना, जनक माविबाट २७ जना, बुद्धधर्म आविबाट १४ जना, गीताधर्म आविबाट १६ जना, बालजागृति आविबाट १४ जना र रुपनारायण माविबाट २४ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

पालिकाभित्र रहेका सबै विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन भइरहेको छ । गाउँपालिकाको सहयोगमा ८ कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको सहजकर्ता फुयालले जानकारी दिनुभयो ।
आइतबार बसेको आधारभूत तह परीक्षा उत्तीर्ण शिक्षा समितिको बैठकले परीक्षा सञ्चालन मिति, प्रश्नपत्र निर्माण, परीक्षा केन्द्र, केन्द्राध्यक्ष र निरीक्षक चयन गर्ने विषयमा छलफल गरेको छ । बैठकले फागुन २६ गतेदेखि चैत्र ५ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । परीक्षा दिउँसो १ बजेबाट सञ्चालन हुने फुयालले जानकारी दिनुभयो । फागुन २६ गते अंग्रेजी, २७ गते नेपाली, २८ गते सामाजिक, चैत १ गते गणित, ३ गते विज्ञान, ४ गते स्वास्थ्य तथा शारीरिक र ५ गते स्थानीय विषयको परीक्षा हुनेछ ।

बैठकबाट विषय शिक्षकलाई एक दिने कार्यशाला आयोजना गरी पालिकाले नै प्रश्नपत्र निर्माण गराउने निर्णय भएको छ । यस्तै, परीक्षा केन्द्र सम्बन्धित विद्यालय नै हुने तय भएको छ भने परीक्षामा विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष र नजिकैको विद्यालयका शिक्षकले निरीक्षकको भूमिका निर्वाह गर्ने फुयालले बताउनुभयो । बैठकमा विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुनका लागि प्रवेशपत्रको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

गत वर्ष ३७८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ९५ विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए भने यसवर्ष शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउने लक्ष्य रहेको फुयालले जानकारी दिनुभयो । गाउँपालिकाले वर्षे बिदाको समयमा पनि उपचारात्मक कक्षा सञ्चालन गरेको थियो ।