दौड प्रतियोगितामा सहभागी खेलाडीहरु ।

हेटौँडाः हेटौँडामा भएको जिल्लास्तरीय खुला ५ किलोमिटर दूरीको दौड प्रतियोगितामा ओखलढुङ्गाका टंक बहादुर कार्की प्रथम भएका छन् । नेकपा माओवादी निकट संगठन पूर्वजनमुक्ति सेना नेपाल मकवानपुरको आयोजनामा बिहिबार हेटौँडा–१०,स्थित बुद्धचोकको परिसरबाट सुरु भएको ५ किलोमिटरको निर्धारित दुरी कार्कीले १५ मिनेट ५२ सेकेन्ड ३६ मिलि सेकेण्डमा पूरा गरेका हुन् ।

खोटाङ जिल्लाका गजेन्द्र राइले १५ मिनेट ५३ सेकेण्ड १२ मिलिसेकेण्डमा निर्धारित दूरा पूरा गर्दै द्वितीय भएका छन् भने सिन्धुली जिल्लाका राज तामाङले १६ मिनेट २ सेकेण्ड ७ मिलिसेकेण्डमा निर्धारित दुरी पूरा गर्दै तृतीय भएका छन् । यस्तै, १६ मिनेट १२ सेकेण्ड २३ मिलिसेकेण्डमा दौड पूरा गरेका धनु मान्नधर चौंथो, १६ मिनेट १२ सेकेण्ड ५३ मिलिसेकेण्डमा दौड पूरा गरेका साहेव घवाडी पाचौं, १७ मिनेट ६ सेकेण्ड ८० मिलिसेकेण्डमा दौड पूरा गरेका विजय सुनार छैठौं, १७ मिनेट ४८ सेकेण्ड ७९ मिलिसेकेण्डमा दौड पूरा गरेका राजकुमार गोले सातौं, १७ मिनेट ४९ सेकेण्डमा ७४ मिलिसेकेण्डमा दौड पूरा गरेका सुवास योञ्जन आठौं, १९ मिनेट ७ सेकेण्ड ७५ मिलिसेकेण्डमा दौड पूरा गरेका सोहन नवौं र २० मिनेट ५ सेकेण्ड, ९९ मिलिसेकेण्डामा दौड पूरा गरेका सोहन राई दशौँ भएका छन् ।

यस्तै, बाल प्रतियोगिहरुमा विनिष श्रेष्ठ, आयष घलान, यमङग घलान, सपाना सुनार, कमला पाख्रिन, प्रणिामा अधिकारी खत्री, रोया पौडेल र सोभा सारु सान्त्वना भएका छन् । प्रतियोगितामा करिब १ सय ८६ जनाको सहभागिता रहेको थियो । हेटौंडा–१० स्थित बुद्धचोकबाट सुरु भएको दौड भैरवरोड, चिसापानी, गर्दोइको लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, ब्रह्मदिक् एकेडेमी, नवोदय शिशु सदन, थाहाचोक, शीतल महलचोक, ओमभवन हुँदै पुनः बुद्धचोकमा आएर ५ किलोमिटरको दौड पूरा भएको थियो ।

नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेलको संयोजनमा ७ जनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । वाइसिएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको अयोजनमा रहेको प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि २ लाख रुपैयाँ बराबरको विमाको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, सान्त्वना हुनेहरुलाई १ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पूर्वजनमुक्ति सेना मकवानपुरका अध्यक्ष सुमन पाख्रिन (सौगात) को साभाध्यक्षमा तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो ।