![Hetaunda sub-metropolitan being declared child-friendly](https://samriddhasamaj.com/wp-content/uploads/2025/02/Hetaunda-sub-metropolitan-being-declared-child-friendly-696x322.jpg)
हेटौंडा: भोलि फागुन १ गते बिहीबार हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने भएको छ । उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिने भएको हो ।
मंगलबार पत्रकार सम्मेलनमार्फत् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागेको जानकारी दिनुभयो । ४३ वटा सूचकको लक्ष्य शत प्रतिशत पूरा भएको उहाँले बताउनुभयो । ४ सूचकमा ९९ प्रतिशतभन्दा बढी नतिजा हासिल भएको छ । यस्तै, ३ वटा सूचकमा ९० प्रतिशतभन्दा बढी र एउटा सूचकमा ८८ प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री घोषणा गर्न लागिएको उहाँले बताउनुभयो ।
२०७९ सालको घरधुरी तथ्यांक संकलन सर्वेक्षणअनुसार हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका ५० हजार एक सय ९५ बालबालिका छन् । २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् ।
उपमहानगरपालिकामा टोलस्तरीय २ सय ६५ र विद्यालयस्तरीय १ सय ६ वटा गरी ३ सय ७१ वटा बाल समूह छन् भने १९ वडास्तरीय र एउटा नगरस्तरीय गरी २० वटा बाल सञ्जाल छन् ।
बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारासहित निकृष्ट बालश्रममुक्त, बालविबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागिएको नगर प्रमुख लामाले जानकारी दिनुभयो । यसअघि १९ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियोे । वडाहरु बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएसँगै उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागिएको हो ।
मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणासँगै मकवानपुरको चौथो बालमैत्री स्थानीय शासनयुक्त पालिका हुनेछ ।
बालमैत्री घोषणाका लागि २०७९ साल भदौ ५ गतेबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र विविध बालमैत्री कार्यक्रमहरु सुरु गरिएको थियो । पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियोे ।