प्रहरीले बरामद गरेको अवैध काठ ।

हेटौँडा : मकवानपुरको भैँसेबाट अवैध काठसहित २ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय राप्ती मनहरीका अनुसार भैँसेस्थित प्रहरी चौकीबाट २ वटा ट्रकमा अवैध काठ बरामद भएको हो ।

गत माघ २३ गते बिहान ३ः३० बजे भैसे प्रहरी चौकीले ना ८ ख २४९३ र बा प्र ०३–००१ ख ०३१५ नम्बरको ट्रकबाट टाँचा नभएको तथा बिना इजाजतका उत्तिस गोलिया ५३० थान (११८८.१२ क्युफिट) काठ बरामद गरेको डिभिजन वन कार्यालय राप्ती मनहरीका सूचना अधिकारी दामोदर पाण्डेले जानकारी दिनुभयो ।

उक्त काठसहित ना ८ ख २४९३ नम्बरको ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी बस्ने बिन्दा लाल थोकर र बा प्र ०३–००१ ख ०३१५ नम्बरको ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१४, मयुरधाप बस्ने टिका बहादुर भेटवाललाई पक्राउ गरिएको सूचना अधिकारी पाण्डेले बताउनुभयो । पक्राउ परेका व्यक्ति र सवारी साधन अनुसन्धानको क्रममा डिभिजन वन कार्यालय राप्ती मनहरीमा रहेको उहाँले बताउनुभयो । मकवानपुर जिल्ला अदालतबाट म्याद लिएर हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।