बागमती गोल्डकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा हुन लागेको सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गर्नुहुने भएको छ । आगामी फागुन ३ गतेदेखि बागमती गाउँपालिकाको आफ्नै शहीद स्मृति रंगशालामा प्रतियोगिता हुनेछ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै पालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले गाउँपालिकाको मुख्य सहयोगमा प्रतियोगिता हुन लागेको जानकारी दिनुभएको छ । गत वर्ष छैठौं संस्करणको गोल्डकप प्रतियोगिता फापरबारीको जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका र बागमती युथ क्लब सर्लाहीको टिमबीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगिता आयोजना गर्नका लागि गाउँपालिकाबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुने उहाँले बताउनुभयो । ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरको १० वटै पालिकाबाट, सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको उहाँले बताउनुभयो ।

बागमती गाउँपालिकाले निर्माण गरेको प्यारापिटसहितको खेलमैदान ।

पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले यस वर्षबाट पालिकाले खेलमैदानलाई व्यवस्थित गरेर प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुभएको छ । पालिकाले सबै विधाका खेलको संरचना निर्माण गर्नका लागि श्रमदानका लागि पहल गरिएको बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई दश हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।

गत वर्ष काठमाडौंको मछिन्द्र क्लबले उपाधि जितेको थियो भने सशस्त्र प्रहरी बलको एपीएफ उपविजेता बनेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एव्म जिल्ला अध्यक्ष टिकाराम लामा, प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान बोर्ड सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिति रहेको थियो ।