हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित फेमकोल एकेडेमी बोर्डिङको वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । शुक्रबार पदमपोखरीको मिनी रंगशालामा सुरु भएको खेलकुद सप्ताहको उद्घाटन वडाध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बगान सिंह थिङको सभाध्यक्षमा भएको हो । खेलकुद सप्ताह आगामी माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।
खेलकुद सप्ताहमा विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । जुनियरतर्फका ६ वटा खेल र सिनियरतर्फका १० वटा खेलहरु सञ्चालन हुने बताइएको छ । सिनियरतर्फको खेलकुद कार्यक्रम उद्घाटनमा कबड्डी, टगअफ वार, स्लो साइकल दौड, म्युजिकल चेयरलगायतका खेलहरु सञ्चालन भएको थियो भने जुनियरतर्फ बुक ब्यालेन्स, पिरामिड कप, रेडी फर स्कूल लगायतका खेलहरु भएको थियो । प्रतियोगितामा करिब ६ सय जना विद्यार्थी सहभागी भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, हाउस अफ इयर हुनेलाई पनि ट्रफी प्रदान गरिने बताइएको छ ।