प्रदेश सभा बैठकमा सहभागीहरु । फाइल तस्वीर ।

हेटौंडा ः बागमती प्रदेशसभाको बैठक आज शनिबार बस्दैछ । प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो ।

सचिवालयका अनुसार प्रदेशसभाको उक्त बैठकमा निर्वाचन क्षेत्र लक्षित विशेष समयको कार्यसूची निर्धारण गरिएको छ । उक्त कार्यसूची अनुसार बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्या, अवश्यकता, योजना कार्यान्वयनलगायतका विषयमा धारणा राख्ने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

सचिव खड्काका अनुसार शनिबारको बैठकमा ५ वटा विधेयकहरु माथि छलफल गरी संसदीय समितिमा पठाउने कार्यसूची पनि निर्धारण गरिएको छ । उक्त बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको छ । यसअघि गत माघ २४ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सांसदहरुले निर्वाचन क्षेत्र लक्षित विशेष समयमा धारणा राखेका थिए भने प्रदेश लोकसेवा आयोगको गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन पेश गरिएको थियो ।