![chainpurpolice](https://samriddhasamaj.com/wp-content/uploads/2025/02/chainpurpolice-696x396.jpg)
हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चैनपुरस्थित प्रहरी चौकी चैनपुरका लागि जग्गा प्राप्त भएको छ । गाउँपालिकाको भवनमा कार्यालय सञ्चालन गरिरहेको प्रहरी चौकीका लागि बिहीबार जग्गा प्राप्त भएको हो ।
राक्सिराङ्ग गाउँपालिका–५ की साँहिलीमाया मुक्तानले प्रहरी चौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएको हो । करिब २१ लाख रुपैयाँ बराबरको १ रोपनी १४ आना जग्गा मुक्तानले प्रहरी चौकीका लागि निःशुल्क उपलब्ध गराउनु भएको हो । बिहीबार जग्गा प्रहरी चौकी चैनपुरको नाममा नामसारी भएर प्राप्त भइसकेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विशवराज खड्काले जानकारी दिनुभएको छ । प्रहरी चौकी चैनपुरमा अहिले प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना प्रहरी खटिएका छन् ।
‘स्थानीयले जग्गा उपलब्ध गराएसँगै अब हामी भवन निर्माणका लागि स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारसँग आग्रह गछौं’, प्रहरी उपरीक्षक खड्काले समृद्ध समाजसँग भन्नुभयो, ‘आगामी दिनको आवश्यकतालाई समेत हेरेर उपयुक्त भवन निर्माण गर्ने गरी स्रोत व्यवस्थापनमा अग्रसर हुनेछौं ।’ बागमती गाउँपालिकाको राईगाउँस्थित प्रहरी चौकी र कैलाश गाउँपालिकाको नामटारस्थित प्रहरी चौकीका लागि पनि जग्गा प्राप्तिका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।