प्रतियोगितामा सहभागी खेलाडीहरु ।

हेटौँडा : मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १७ औं संस्करणको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शुक्रबार हेटौँडा–४, पारिजातपथस्थित कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो । मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

प्रतियोगितामा मकवानपुरका २२ वटा तेक्वान्दो डोजाङबाट करिब ३ सय जना खेलाडीहरुको सहभागिता रहेको छ । पुरुषतर्फको खेलमा १८ केजी तौल समूहदेखि ६७ केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहेको छ भने महिलातर्फ १८ केजी तौल समूहदेखि ५८ केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहेको छ ।

संघका अध्यक्ष बज्राचार्यले प्रतिभाशाली खेलाडी उत्पादन गर्नका लागि खेलले सहयोग पुर्‍याउने बताउनुभयो । जिल्लास्तरीय प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई बन्द प्रशिक्षणमा राखेर राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकासँग सहकार्य गरेर तेक्वान्दो संघले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुका लागि १ लाख रुपैयाँको बीमाको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

नगर प्रमुख लामाले खेललाई पर्यटनसँग जोड्ने काममा लागिरहेको बताउनुभएको छ । खेलमात्रै नभई शिक्षा, स्वास्थ्य र उत्पादनसँग पनि जोडिन आवश्यक रहेको उहाँको भनाई छ । आगामी फागुन १ गते हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । बालबालिकाले पाउनुपर्ने खेलकुद, शिक्षा लगायत विभिन्न कुराको अवसरबाट बञ्चित नगराउनका लागि बालमैत्री घोषणा गर्न लागेको उहाँको भनाई छ ।

प्रतियोगितामा २४ वटा स्वर्ण पदकका लागि खेलाडीहरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको उपाधि विजेता टिमलाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै तृतीय हुने टिमलाई ८ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको महिला र पुरुषतर्फ १÷१ जना सर्वोत्कृष्ट खेलाडीलाई ३/३ हजार रुपैयाँको नगद राशि र ट्रफी प्रदान गरिने छ ।

गत वर्ष सम्पन्न भएको १६ औं संस्करणको तेक्वान्दो प्रतियोगिताको उपाधि हेटौँडा–१४, स्थित जनज्योति तेक्वान्दो डोजाङले उपाधि जितेको थियो भने हेटौंडा–४ स्थित कर्रा तेक्वान्दो डोजाङ उपविजेता बनेको थियो । यस्तै, मकवानपुर तेक्वान्दो डोजाङको टिम तृतीय भएको थियो ।