हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित बालबोध माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार विद्यालयको प्राङ्गणमा एक समारोहबीच ७४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप अर्यालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रमकै अवसर पारेर दौड, स्पोन दौड, अभिभावक र शिक्षकबीच कुर्सी दौडलगायतका खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दीपकलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि विद्यालयका बस चालक रविकुमार कठायतले ५ हजार र मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले २० हजार रुपैयाँ सहयोग गर्नुभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा माध्यमिक तहका गोपाल भुजेल र आधारभूत तहका सुजिता अधिकारीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको छ । विद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्यनरत छन् । विद्यालयले कक्षा–८ को आधारभूत कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीको मूल्याङ्कनका लागि विषयगत परीक्षा लिने गरेको छ ।