हेटौंडा: हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको दोस्रो संस्करणको वडा खेलकुद महोत्सव अन्तर्गत आज बिहीबार कविता प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ स्थित ब्रह्मदिक् एकेडेमीको व्यवस्थापनमा कविता प्रतियोगिता हुने भएको हो ।

४ नम्बर वडाभित्रका विद्यालयका विद्यार्थीले सहभागिता जनाउन पाउने गरी कविता प्रतियोगिता हुने शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ का अध्यक्ष श्रीराम दहालले जानकारी दिनुभएको छ । कविता प्रतियोगितामा ४ नम्बर वडाको ३ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयबाट १४ जना विद्यार्थीको सहभागिता रहने उहाँले बताउनुभयो ।

कविता प्रतियोगिता बिहान ११ बजेबाट सुरु हुनेछ । ४ नम्बर वडाभित्रका विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थी प्रतियोगितामा सहभागी हुन सक्ने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी सहभागी हुन पाउनेछन् ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई वडा खेलकुद महोत्सवको समापन कार्यक्रममा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । खेलकुद महोत्सव अन्तर्गत शुक्रबार भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । यसअघि हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, वादविवाद प्रतियोगिता, नेपाली हिज्जे प्रतियोगिता, जिल्लास्तरीय शिक्षक दौड र बिस्तारै स्कुटर दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।