मोबाइल पसलमा चोरी गर्दै गर्दा पक्राउ परेका किशोर ।

हेटौँडा : हेटौँडाको मुख्यबजार हेटौँडा–४, स्कूलरोडमा मोवाइल पसल चोरी गर्ने क्रममा एकजना चोर पक्राउ परेका छन् । कृष्णसागर श्रेष्ठले सञ्चालन गर्दै आएको पसल ‘९९ मोवाइल सोलुसन’ बाट मंगलबार राती चोर पक्राउ परेको हो । कृष्णसागरले आफ्नै घरमा सञ्चालन गर्दै आएको मोवाइल पसलमा मंगलबार राती १ बजेर ३० मिनेटको समयमा चोरी गर्ने क्रममा १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

कृष्णसागरका बुबाले पसलमा कोही प्रवेश गरेको भनी थाहा पाएपछि अगाडि सटरमा हेर्दा ताल्चा नदेखेपछि मोवाइलबाटै हेर्न सकिने गरी पसलमा जडान गरिएको सीसी क्यामरामा हेर्दा चोरी गर्न मान्छे प्रवेश गरेको थाहा पाएको थियो । चोर भित्रै रहेका बेला बाहिरबाट सटर बन्द गरेर प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले चोरीमा संलग्न एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोर बारा जिल्लाको बिश्रामपुर गाउँपालिका स्थायी घर भई हेटौँडामा अध्ययनका लागि बस्दै आएको प्रहरीले जनाएको छ ।

कक्षा १२ मा अध्ययनरत किशोरले पहिलो पटक चोरीको प्रयास गरेको बताएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार चोरीमा संलग्न किशोरको हाउभाउले यसअघि पनि चोरीका घटनामा संलग्न भएको हुन सक्ने अनुमान गरिएको छ । किशोरले १४ जटा मोवाइल, रिचार्ज कार्ड र नगदसहित ६ लाख ७० हजार २ सय २५ रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोरीमा अरु पनि संलग्न भएको हुन सक्ने आशंका गरी थप अनुसन्धान अघि बढाइएको छ ।