मकवानपुरगढी–२ स्थित चण्डिका माविमा एसईई अभ्यास परीक्षामा सहभागी विद्यार्थी ।

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मंगलबारबाट एसईई अभ्यास परीक्षा सुरु भएको छ । माघ ३० गतेसम्म संचालन हुने परीक्षाको पहिलो दिन अनिवार्य गणित विषयको परीक्षा भएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयाँलले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका १० वटा विद्यालय माध्यमिक तहका छन् । चालु शैक्षिक सत्रको सुरुवातमा कक्षा १० मा २४२ जना विद्यार्थी भर्ना भएका थिए । एसईई फारम भर्ने २१९ जना विद्यार्थी मध्ये अभ्यास परीक्षामा ७ जना अनुपस्थित भएको सहजकर्ता फुयाँलले जानकारी दिनुभएको छ । परीक्षा दिउँसो १ बजेबाट सुरु हुनेछ । विद्यार्थीले आफ्नै विद्यालयमा अभ्यास परीक्षा दिने व्यवस्था मिलाइएको छ । परिक्षाको दोस्रो दिन बुधबार अनिवार्य अङ्ग्रेजी, बिहीबार नेपाली, शुक्रबार सामाजीक अध्ययन, आइतबार विज्ञान तथा प्रविधि, सोमबार ऐच्छिक प्रथम र अन्तिम दिन ऐच्छिक द्वितिय विषयको परिक्षा हुनेछ ।

मकवानपुरगढी गाउँपालिका–१ को रानिसेरा माविमा १३ जना, मकवानपुरगढी–२ को वंशगोपाल माविमा २० जना, चण्डिका माविमा ४५ जना, मकवानपुरगढी–३ को भानु माविमा २५ जना, मकवानपुरगढी–४ को मनकामना माविमा १७ जना, मकवानपुरगढी–५ को शारदा माविमा २५ जना, मकवानपुरगढी–६ को जालपादेवी माविमा १४ जना, जनक माविमा ९ जना, मकवानपुरगढी–७ को जनता माविमा ३० जना र मकवानपुरगढी–८ को रुपनारायण माविमा २१ जना विद्यार्थीले एसईईमा सहभागी हुन फारम भरेका छन् ।

एसईईको फारम भरेका मध्ये वंशगोपाल माविका ५ जना र जनक माविका २ जना विद्यार्थी अभ्यास परीक्षामा अनुपस्थित रहेको सहजकर्ता फुयाँलले जानकारी दिनुभएको छ । अनुपस्थित हुने विद्यार्थीको खोजी गरी एसईईमा सहभागी गराउने उहाँको भनाई छ । २०८० सालको एसईईमा १५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएपछि मकवानपुरगढी गाउँपालिकाले एसईईको तयारीमा ध्यान दिएको छ ।

यस वर्षको वर्षे विदामा मकवानपुरगढी गाउँपालिकाले कक्षा १० का विद्यार्थीलाई आवासीय सुविधासहित एक महिना लामो विशेष कक्षा सञ्चालन गरेको थियो । मकवानपुरगढी–७, सुकौरास्थित जनता माविमा सञ्चालन गरिएको विशेष कक्षामा २१३ जना विद्यार्थी सहभागी थिए । मकवानपुरगढी गाउँपालिकाले यस वर्षको एसईईमा ५० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने लक्ष्यसहित तयारी गरिरहेको सहजकर्ता फुयाँलको भनाइ छ ।