हेटौँडा ः बागमती प्रदेश सभा संचालनका लागि सर्वदलीय बैठक बस्दैछ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूबिच प्रदेशसभा संचालनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने तय गरिएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका आनुसार मंगलबार अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
प्रदेशसभाको भोली बुधबार बिहान ११ बजे बस्ने बैठकको कार्यक्रम र सत्तापक्ष र प्रतिपक्ष दल बिचको विवाद समाधानका लागि बैठक आह्वान गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले ल्याएका विभिन्न ४ वटा विधेयकलाई दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाएर पारित गर्नुपर्ने भएपनी संसदको कार्यक्रम अघि बढ्न सकेको छैन । दलहरू बिच सहमतिको वातावरण तयार गर्न सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले बताउनुभयो ।
प्रदेशसभाको गत माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा संसदमा पेश गर्न तयार गरिएको विधेयक सम्बन्धी कार्यसूची हटाइएको थियो ।