सरसफाइ र स्वच्छता व्यवस्थित सहरको पहिलो आवश्यकता हो । स्वच्छ, सफा र हरियालीयुक्त वातावरणले सहज बजारलाई सुन्दर बनाउँछ । तर, नेपालका सबैजसो ठूला सहरहरु प्रदूषणयुक्त छन् । धुलो, धुवाँ र फोहोररहित सहर बनाउने कुरामै सिमित बनिरहेको छ । फोहोर व्यवस्थापनको विषयले हाम्रो संघ, प्रदेश र स्थानीय सरकारको सधैं टाउको दुख्ने गरेको छ । जहाँ समस्या, त्यहाँ समाधानको सूत्रलाई आत्मसाथ गरेर विश्वका कयौं ठूला सहरले प्रभावकारी फोहोर व्यवस्थापन गरिरहेका छन् । फोहोर व्यवस्थापनमा सफल भएका सहरहरुले गरे सम्भव हुँदोरहेछ भन्ने पुष्टि गरेका छन् । हाम्रा महानगर, उपमहानगर तथा नगरपालिकाहरु अधिकांशले डम्पिङ साइट र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सकेका छैनन् । सहरी क्षेत्रबाट निस्कने फोहोरमैला संकलन गरेर भीर, पाखा वा नदी किनारमा थुपार्नुलाई नै हाम्रा स्थानीय सरकारले फोहोर व्यवस्थापन बुझिरहेको छ ।

घर–घरमा गाडी लगेर सशुल्क फोहोर संकलन गरेर डम्पिङ साइटमा र्पुयाउनुमात्र फोहोर व्यवस्थापन होइन । फोहोरमैला संकलन अघि र पछि उचित वर्गीकरण गरेर त्यसको अन्त्य गर्नु फोहोर व्यवस्थापन हो । यसका लागि फोहोरलाई संकलन सँगसँगै पुन:चक्रण, पुन:प्रयोग, प्रशोधनलगायत प्रक्रिया गर्नुपर्छ । फोहोरमैलालाई डम्पिङ साइटमा थुपारेर राख्नु हुँदैन । बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेश राजधानीसमेत रहेको हेटौंडाको फोहोर व्यवस्थापन पनि लगभग डम्पिङ साइटमा थुपार्नेमै सिमित बनिरहेको छ । उपमहानगरपालिकाले निजी क्षेत्रसँगको साझेदारीमा नगर क्षेत्रबाट फोहोर संकलन गरेर राप्ती खोला किनारमा थुपार्ने काम गरिरहेको छ । यसरी थुपारिएको फोहोरले वातावरणमा र्पुयाएको असरबारे उपमहानरपालिका गम्भीर देखिएको छैन । करिब दुई साताअघि मात्र डम्पिङ साइटमा थुपारिएको प्लाष्टिकजन्य फोहोरमा आगो लागेर चार दिनसम्म निभाउन नसक्दासमेत उपमहानगर नेतृत्व कानमा तेल हालेर बसेको छ ।

हेटौंडाको डम्पिङ साइट व्यवस्थापनमा देखिएको समस्यालाई दीर्घकालीन समाधान गर्न संघर्ष समिति बनाएर ध्यानाकर्षण गराइएको छ । आइतबार संघर्ष समितिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी, हेटौंडा उपमहानगरपालिका नगर प्रमुख, डिभिजन वन कार्यालय हेटौंडा र वडा कार्यालयहरुमा ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । संघर्ष समितिले ३५ दिनभित्र समस्याको दीर्घकालीन समाधान नभए संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । अव्यवस्थित डम्पिङ साइटका कारण हेटौंडाको वडा नम्बर १, ९, १० र ११ नम्बर वडाका विभिन्न बस्तीका बासिन्दालाई प्रत्यक्ष असर परेको भन्दै संघर्ष समिति बनाइएको हो । डम्पिङ साइटका कारण राप्ती खोलाको जलचर, वरपरका वन तथा वन्यजन्तुलाई पनि उत्तिकै असर परेको छ ।

हेटौंडालाई सफा सहर बनाउने भन्दै फोहोर व्यवस्थापनका आकर्षक नारासहितका अभियान र कार्यक्रमहरु सञ्चालन गरिएको थियो । करिब दुई दशकअघि नै प्लाष्टिकजन्य फोहोर अन्त्य गर्न ‘सुइरो’ अभियान चलाएको हेटौंडामा प्लाष्टिकजन्य फोहोर नै सबैभन्दा बढी छ । फोहोरलाई मोहरमा परिणत गर्ने कुरा पनि प्रभावकारी कार्यान्वयनमा आएको छैन । कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल बनाउने योजना पनि अलपत्र नै छ । नगरबासीसँग पैसा लिएर घरबाट फोहोर उठाएर लानेबाहेक फोहोरमैला र डम्पिङ साइट व्यवस्थापनमा उपमहानगरपालिका उदासिन बन्दा हेटौंडा दूषित सहर बन्दै गएको छ । फोहोरमैलाले वातावरण तथा पारिस्थितिक पद्दतिमा नकारात्मक असर पर्ने भएकाले सरसफाइप्रति थोरै भए पनि नगरबासीमा सचेतना बढेको छ । हेटौंडा उपमहानगरपालिकाले फोहोरमैलाको समस्यालाई सधैंको लागि अन्त्य गर्न उपयुक्त योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्दै डम्पिङ साइटको उचित व्यवस्थापन गर्नु आवश्यक छ ।