हेटौँडा ः आगामी फागुन महिनामा हेटौँडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । निर्माण व्यवसायी संघले महोत्सव आयोजना गर्न लागेको हो । मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरेर संघले महोत्सवको विषयमा जानकारी दिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको सिफारिसमा हेटौँडा उपमहानगरपालिकासँग सहमति लिएर महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिनुभयो ।
फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौँडा–१० स्थित टिसिएनको खुला मैदानमा हुने महोत्सवमा ३५० वटा स्टल हुने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा मकवानपुर आइडल प्रतियोगिता हुनेछ । संघका अध्यक्ष कँडेलको अध्यक्षताा २११ सदस्यीय मूल समारोह समिति गठन गरिएको भने विभिन्न २१ वटा उपसमिति बनाइएको छ । यसअघि २०७१ सालमा पनि निर्माण व्यवसायी संघ मकवानपुरले व्यापार महोत्सव आयोजना गरेको थियो ।