हेटौँडा ः सहिद दिवशको अवसरमा हेटौँडा–४ नम्बर वडाको आयोजनामा मंगलबार महिला शिक्षकको बिस्तारै स्कुटी चलाउने प्रतियोगिता र पुरुष शिक्षकतर्फ दौड प्रतियोगिता भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
विस्तारै स्कुटी चलाउने प्रतियोगितामा सिर्जना थिङ प्रथम हुनु भएको छ । प्रतियोगितामा एन्जिला रिजाल द्वितीय, सरस्वती अधिकारी तृतीय र श्रद्धा शर्मा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र चौथो हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको छ । महिला तर्फ हुप्राचौर भित्र एक सय मिटर स्लो स्कुटी रेस भएको थियो । ७५ जना महिला शिक्षकहरुले प्रतियोगितामा सहभागिता जनाउनु भएको थियो ।
यस्तै जिल्लास्तरीय पुरुष शिक्षक दौड प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा रहेको भानु माध्यामिक विद्यालयका शिक्षक मुकेश चौलागाई प्रथम हुनुभएको छ । दौड प्रतियोगितामा भानु माविकै दुर्लभ कुमार दुलाल द्वितीय, राक्सिराङको श्री आधारभूत विद्यालयका खड्ग बहादुर थिङ तृतीय हुनुभएको छ । हेटौंडा–३ मा रहेको बाल उज्ज्वल माविका रामशरण दहाल चौथो र भानु माविका मनमोहन देवकोटा सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, चौथो र सान्त्वना हुनेले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरुष शिक्षक तर्फ तिन किलो मिटर दौड भएको थियो । दौड शितलमहल चोकबाट सुरु भएर भैरव रोड, पशुपति मन्दिर, हुँदै पुन शितल महल चोकमा आएर समाप्त भएको थियो ।
प्रतियोगितामा बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्यता रहेको थियो । प्रतियोगितामा विद्यालयका प्रधानध्याप, शिक्षकहरुको उपस्थिति रहेको थियो ।