हेटौंडा: हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा पुरुषतर्फको टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वनविज्ञान क्याम्पस हेटौंडामा अध्ययनरत २०७८–८२ संकायको आयोजनामा सुरु भएको प्रथम संस्करणको फरेष्ट्री गोल्कप फुटबल प्रतियोगिताको उद्घाटन मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य तथा प्रतियोगिताका संयोजक सुजन चिलवालको सभाध्यक्षमा भएको हो ।

मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक २०७८–८२ संकायले विजयी सुरुवात गरेको छ । आयोजकले एएफयु १३ संकायको टिमलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा निशान्त कापडीले १ गोल र दोस्रो हाफको खेलमा अविनाशले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको म्यान अफ द म्याच घोषित हुन सफल भएका कापडीलाई क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कार्यबाहक अध्यक्ष अमृत देवकोटाले ट्रफी हस्तान्तरण गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति मकवानपुर प्रमुख घलानले राष्ट्रियस्तरमा पहिचान बढाउनका लागि खेलकुद प्रतियोगिताले मद्दत गर्ने बताउनुभएको छ । विज्ञानको माध्यमबाट वनसम्बन्धी अनुसन्धान गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । विश्वमा जलवायु परिवर्तनले क्षति र्पुयाएको अवस्थामा नेपालमा वनजंगल बढी भएका कारण क्षति र्पुयाउन नसकेको उहाँको भनाइ छ । खेलमा हारजीत सामान्य कुरा रहेको बताउनुहुँदै त्यसलाई सबै खेलाडीले स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

प्रतियोगिताका संयोजक चिलवालले आर्थिक र प्राविधिक रुपमा प्रतियोगिताका लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । महिलातर्फको प्रतियोगिता आज बुधबारबाट सुरु हुने उहाँले बताउनुभयो । कलेजमा हरेक वर्ष छुट्टाछुट्टै संकायका विद्यार्थीले प्रतियोगिता आयोजना गर्दै आएको उहाँले बताउनुभयो । महिला तथा पुरुषको अन्तिम खेल भने माघ २३ गते हुनेछ ।

प्रतियोगितामा कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका पुरुषतर्फ १० वटा टिम र महिलातर्फ ६ वटा टिमको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने प्रतियोगितामा वडा कार्यालयहरु, तुल्सीमेहर मेमोरियल बोर्डिङ, सोलिड्यारिटी बोर्डिङ, बालजागृति बोर्डिङलगायत अन्य निकायबाट सहयोग रहेको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र कलेजबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त हुने उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुने अयोजकको अनुमान रहेको छ ।

लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फको उपाधि विजेता टिमले २५ देखि ३० हजार रुपैयाँ तथा उपविजेता टिमले १५ देखि २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फको उपाधि विजेता टिमले १५ देखि २० हजार रुपैयाँ र उपविजेताले ७ देखि १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राना भाट, वनविज्ञान अध्ययन संस्थान हेटौंडाका प्रमुख डा. शिव महर्जन, सहायक क्याम्पस प्रमुख शैलेन्द्र यादवलगायतको आतिथ्य थियो ।