हेटौंडा: हेटौंडामा जारी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेस्रो दिनसम्म ५ चरणको खेल सम्पन्न हुँदा एफएम रुपेश जयसवालले ४.५ अंक बनाउँदै अग्रता कायम राखेका छन् । हेटौंडा–४ स्थित होटल सामनामा मंगलबार ५ औं चरणको खेलमा सकिँदा रौतहट जिल्लाका रुपेशले वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका हुन् । राजनले रुपेश विरुद्ध २३ औं चालमा रुक सी सेभेन गलत मुभ चाल्दा बी सिक्स पाउन गुमाउन परेको छ । लगत्तै ए सेभेन पाउन पनि त्याग्नु पर्दा खेल रुपेशको पक्षमा पुगेको हो ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रुत दहालले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगट्न सफल भएका छन् । खेलमा एफएम क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई हराए भने सिएम शुश्रुतले भक्तपुरका विनय थापामाथि जीत निकाले ।

स्पर्धामा अन्य तीन जना खेलाडी समान ३ अंकका साथ संयुक्त तेस्रो स्थानमा उभिएका छन् । दोलखाका आशीष फुँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी खेलमा टिकिरहेका हुन् ।

१० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौ चरणको खेल सम्पन्न हुँदा वर्तमान नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर स्पष्ट अग्रता बनाएकी छिन् । जोशीले चार जीत र एक खेल बराबर खेल्दै अपराजित रहन सफल भएकी हुन् ।

प्रतियोगितामा पहिलो हार व्यहोरेका एञ्जल महर्जन ४ अंकमै सिमित बन्दै दोश्रो स्थानमा रहेकी छिन् । काठमाडौंका एञ्जलले क्रमश:४ जीत र एक खेलमा हार आत्मसाथ गरेकी हुन् । उनीसँगै काठमाडौंकै बिनिता कपाली ४ अंक बनाई संयुक्त दोश्रो स्थानमा रहन सफल भएकी छिन् । बिनिताले ४ खेलमा ४ जीत प्राप्त गरेकी छिन् ।

यस्तै, बाँकेकी इशा गिरी र मोरङकी शान्ति धिमाल समान ३.५ अंक बनाउँदै संयुक्त तेस्रो स्थानमा रहेका छन् । दुबै खेलाडीले समान ३ जीत र एकमा बराबर खेलेका हुन् ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका थप दुई चरणको खेल बुधबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ । प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।